हामीले दैनिक चलाउने साबुन सानो हुँदै जाँदा त्यसलाई हामी फाल्छौं। झन् होटलहरूमा त ग्राहकले प्रयोग गरेका साबुन दैनिक फेरिन्छ।
ग्राहकले पूरै नचलाएका साबुन त्यसै खेर जान्छ। खेर जाने यस्तै साबुन पुनः प्रयोग गर्ने हो भने यसले वातावरण सफाइमा मद्दत मिल्छ। तर कसरी?
'इको सोप बैंक' यसको जवाफ हो।
खेर जाने साबुन संकलन गरी प्रशोधन गर्दै इको सोपले सफा र फेरि प्रयोग गर्न मिल्ने साबुन बनाउँछ।
'पुनः प्रयोग भन्नाले प्रयोग भएको साबुनमा स्यानिटाइज गर्ने रसायन हाल्ने, अनि त्यही साबुनलाई नयाँ बनाउने हो,' इको सोप नेपालकी प्रोजेक्ट प्रबन्धक निकी लामा बताउँछिन्।
खेर जाने साबुन पुनः प्रयोग गर्नु त छँदैछ, इको सोप बैंकको उद्देश्य साबुन प्रयोग गर्नबाट बञ्चित समूहमा साबुन पुर्याउनु पनि हो।
यो प्रोजेक्टले हालसम्म अनुमानित तीन हजार विद्यार्थीमा साबुन वितरण गरेको निकी बताउँछिन्। प्रायः काठमाडौं उपत्यकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिइन्छ। समयअनुसार उपत्यका बाहिरका विद्यालयमा पनि पुग्छन्।
इको सोप कम्बोडियाबाट सुरू भएको अवधारणा हो। यसका सर्जक हुन् समीर लखानी, जो 'सिएनएन हिरो २०१७' को शीर्ष- १० मा समेत छानिएका थिए।
झन्डै तीन वर्षदेखि सोही अवधारणामा नेपालमा निकीले इको सोप बैंक सञ्चालन गरेकी हुन्। उनी काठमाडौंका विभिन्न होटलबाट प्रयोग भएक साबुन संकलन गर्छिन्। र, स्वयम्भू नजिकैको एउटा सानो कोठामा थुपार्छिन्।
संकलित साबुनलाई रसायन हालेर स्यानिटाइज गरिन्छ। त्यसपछि मेसिन ग्राइन्डरको मद्दतले धूलो पारिन्छ। यसरी धूलो पारिएको साबुनलाई पिठोको डल्लोजस्तो बनाइन्छ। यो डल्लोलाई आकार दिन अर्को हाते प्रेस मेसिनमा राखिन्छ। त्यसलाई जोडले दबाइएपछि साबुनले ठूलो आयात आकार लिन्छ।
आयात आकार बनेको साबुनलाई स्केलले नापिन्छ र १००-१०० ग्रामको सानो टुक्रामा चक्कुले काटिन्छ। केही बेर सुकाएपछि साबुनमा इको सोपको चिह्न अंकित गरिन्छ र यो प्याकेजिङका लागि तयार हुन्छ।
विभिन्न प्रोजेक्टहरूमा काम गरेकी निकी तीन 'आर' - 'रियुज', 'रिसाइकल' र 'रिड्युस' अवधारणामा विश्वास राख्छिन्।
निकी सानैदेखि भारतमा पढेकी हुन्। कालिम्पोङको एक विद्यालयमा १३ वर्ष बोर्डिङ स्कुल सकेर स्नातकका लागि उनी बैंगलोर विश्वविद्यालय पुगिन्। त्यहाँबाट समाजशास्त्र, अर्थशास्त्र र उद्योग सम्बन्धी विषयमा स्नातक गरिन्। त्यसपछि दिल्ली विश्वविद्यालयबाट 'लिबरल आर्ट्स' मा स्नातकोत्तर सकिन्।
पछि उनलाई डेभलपमेन्ट स्टडिज पढ्ने सोच आयो। यसका लागि बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स पुगिन्।
'कुनै एक निश्चित विषयमा केन्द्रित हुनुपर्छ भन्ने लागेपछि डेभलपमेन्ट स्टडिज पढ्ने निधो गरेँ,' ३१ वर्षीया निकीले सो विषय रोज्नुको कारण खुलाइन्। उनले सन् २०१३ सालमा डेभलपमेन्ट स्टडिजमा स्नातकोत्तर सकिन्। त्यसैबीच मानवहितमा काम गर्ने विभिन्न प्रोजेक्टहरूमा आबद्ध हुन थालिन्।
बेलायतमा स्नातकोत्तर गर्दैगर्दा निकीले ब्रिटिस काउन्सिलको प्रोजेक्टमा प्रशिक्षार्थी रूपमा काम गरिन्। यहाँ मिलेको मौकाले उनलाई अफ्रिकी मुलुक जाम्बियामा प्राथमिक शिक्षाको कार्यक्रमका लागि अवसर दिलायो। पढाइ सकेर उनी जाम्बियामा कार्यक्रम कार्यान्वयन अधिकारीका रूपमा पुगिन्।
विभिन्न समाज र आफैंलाई बुझ्ने प्रयत्नमा लागेकी निकी जाम्बियामा नौ महिना बसिन्। त्यसपछि उनले दक्षिण-पूर्वी एसियाको कम्बोडियामा सार्वजनिक स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर पाइन्। यहाँ पनि नौ महिना काम गरिन्।
कम्बोडियामा हुँदा निकीले थुप्रै क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिन्।
'त्यहाँका मान्छेसँग धेरै घुलमिलिएँ। हरेक कामलाई आत्मसात गर्दै गएँ। आफ्नो नेटवर्क बलियो बनाएँ,' उनले भनिन्।
त्यत्तिकैमा उनको भेट 'इको सोप बैंक' प्रोजेक्टका सर्जक समीरसँग भयो। उनीहरूबीच राम्रो मित्रता बस्यो। एक-अर्काबीच विभिन्न आइडिया र काम-कुराबारे कुराकानी हुन थाल्यो।
निकीसँगको भेटअघि समीरले कम्बोडियामा इको सोप बैंक सुरू गरेका थिए।
'इको सोपको अवधारणा निकै चाखलाग्दो थियो। नेपालमा पनि यही अवधारणामा काम गर्न सकिन्छ कि भन्ने लाग्यो,' उनले भनिन्, 'त्यही सोचले समीरको मार्गदर्शन लिएर नेपाल आएँ।'
निकी सन् २०१६ सालको अन्तिमतिर नेपाल फर्केकी हुन्। यहाँ आएर उनीसँग आइडिया त थियो तर सहकार्यका लागि कोही भएनन्। उनले घरमा कुरा गरिन्। परिवारबाट पूर्ण समर्थन मिल्ने भयो। त्यसपछि उनी काठमाडौंका विभिन्न होटलसँग सहकार्यको प्रस्ताव लिएर पुगिन्।
'साबुन पुनः प्रयोग गर्ने भन्दा सुरूमै अचम्म मान्नेहरू धेरै भए। तर यसको प्रक्रिया बुझाएपछि होटलहरूबाट सकारात्मक प्रतिक्रिया मिल्यो,' उनले भनिन्।
परिवार र साथीभाइले पनि निकीलाई सहयोग गरे।
'थाकेर चुर हुन्थ्यौं। तर नेटवर्किङ बलियो नहुन्जेल विभिन्न ठाउँ चहार्यौं,' उनले भनिन्, 'हामीले जति धैर्य गर्यौं, त्यो अहिलेको पुस्तामा भने कम भएजस्तो महशुस हुन्छ।'
होटलहरूबाट राम्रो प्रतिक्रिया पाएपछि नै निकीले इको सोपको काम थालेकी हुन्। महिला सशक्तीकरणमा मद्दत पुग्ने सोचले साबुन बनाउन उनले दुई महिला नियुक्त गरिन्। यसका लागि 'नेसाङ मनाङ महिला समाज' नामक संस्थाले मद्दत गर्यो।
यो संस्थामा निकीकी सासू खण्ड लामा आबद्ध छिन्। निकीले नेपाल आएको केही समयपछि नै विवाह गरेकी हुन्। अहिले उनलाई घर र माइती दुवैबाट पूर्ण समर्थन मिलेको बताउँछिन्। निकीको अनुपस्थितिमा इको सोपको काम उनीहरूले नै सम्हाल्छन्।
जम्मा दुई जनाबाट सुरू इको सोपमा यतिबेला ६ महिला आबद्ध छन्। उनीहरू १८ वर्षदेखि ६५ वर्षसम्मका हुन्। हप्ताको पाँच दिन दैनिक सात घन्टा काम गर्छन् र दिनमा १५० देखि २०० वटा इको साबुन उत्पादन गर्छन्।
इको सोप बैंकबाट बनेको हरेक ब्याचको साबुन छालामा प्रयोग गर्न सुरक्षित छ वा छैन भन्ने सुनिश्चित गर्न प्रयोगशालामा परीक्षण गरिने निकी बताउँछिन्।
सन् २०१७ को जनवरीबाट आधिकारिक रूपमा सुरू भएको प्रोजेक्ट लकडाउनमा रोकिएको थियो। लकडाउन खुलिसके पनि होटल व्यवसाय उँभो लागेको छैन। यस्तोमा इको सोप बैंकले आफूलाई टिकाउन नयाँ तरिकामा काम थालेको छ।
'आवश्यकताले नवीनता ल्याउँछ भनेझैं हामीले साबुन ल्याउने विकल्प खोज्यौं,' निकीले भनिन्, 'केही समयको अध्ययनपछि साबुन बनाउने कम्पनीहरूले थुप्रो साबुन फाल्ने गरेको पायौं। लकडाउन खुकुलो भएसँगै हामीले कम्पनीहरूसँग कुरा गर्यौं र उनीहरूबाटै लियौं।'
कुनै पनि कम्पनीको साबुन निकाल्दा त्यसको आकार, लोगोलगायत बिग्रियो भने पूरै ब्याचको साबुन खेर जाने रहेछ। तिनै साबुन इको सोप बैंकले संकलन गरेको हो। यसो गर्दा इको साबुनले पहिलेभन्दा सफा र प्रयोग नभएका साबुनमा काम गर्न पाए।
'महामारी बेला हाम्रो प्रोजेक्ट रोकिन्छ भन्ने ठूलो डर थियो। तर हामीले वैकल्पिक समाधान निकाल्यौं,' उनले भनिन्।
इको सोपले प्रत्येक तीन महिनामा तीनदेखि चार पटक निःशुल्क साबुन वितरण गर्छ। यो साबुन प्रायः कक्षा १ देखि ८ सम्मका विद्यार्थीमा पुग्छ।
'हामी साबुन वितरणसँगै बालबालिकालाई हात धुने तरिका पनि सिकाउँछौं,' निकीले भनिन्।
निःशुल्क वितरणबाहेक प्रोजेक्टलाई दीगो हिसाबमा अघि बढाउन र महिलाहरूलाई उनीहरूको कामको पारिश्रमिक दिन इको साबुन विभिन्न संस्था र स्थानीय बजारमा पनि पुगेको छ। बजार ट्रेन्ड र मागअनुसार यतिबेला इको साबुन विभिन्न आकारमा पनि बन्न थालेको छ।
हाल शरीरमा प्रयोग गर्ने साबुन मात्र पुनः प्रयोग गरिरहेको इको सोपले भविष्यमा कपडा धुने साबुन पनि पुनः प्रयोगमा ल्याउने योजना बनाएको छ। दिगो योजनाअन्तर्गत साबुनको प्रचलन नभएको र महत्व नबुझिएकाका ठाउँमा पुर्याउने इको साबुनको लक्ष्य हो।
निकीका अनुसार सरसफाइको कमीकै कारण नेपालमा शिशु मृत्युदर उच्च छ। खरानी र रातोमाटोले हातखुट्टा धुनेहरू अहिले पनि थुप्रै छन्।
'बच्चाहरूलाई डिटर्जेन्ट पाउडरले नुहाइदिएको पनि देखेकी छु। त्यसैले, साबुन र सरसफाइको महत्व हरेक कुनाकाप्चासम्म बुझाउँदै जाने मन छ,' उनले भनिन्।