गएको आर्थिक वर्ष नेपाल एयरलाइन्सको आम्दानी १ अर्ब ७३ करोड रुपैयाँले घटेको छ।
आर्थिक वर्ष २०७६/७७ को अन्तिम पाँच महिना कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको लकडाउनको मार भोगेको एयरलाइन्सको नोक्सानी पनि सोही अनुपातमा बढेको छ।
नेपाल एयरलाइन्सको आन्तरिक लेखा परीक्षणको प्रतिवेदनअनुसार गएको वर्ष १४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष १५ अर्ब ९७ करोड रुपैयाँ आम्दानी भएको थियो।
निरन्तर नोक्सानीमा गइरहेको सरकारी स्वामित्वको एयरलाइन्स कोरोनाका कारणले झन बढी नोक्सानी बेहोर्न बाध्य भएको छ।
आठ महिना नियमित आम्दानी भएपनि लकडाउनको अवधिमा नियमित उडान रोकिएका कारण आम्दानी घटेको एयरलाइन्सको प्रष्टिकरण छ।
गएको वर्ष नेपाल एयरलाइन्सको नोक्सानी ३ अर्ब ८९ अर्ब पुगेको छ। यस्तो नोक्सानी अघिल्लो वर्ष भने २ अर्ब ६ करोड रुपैयाँ थियो।
गएको वर्ष उडान सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, एजेन्सी कमिसन जस्ता शिर्षकमा खर्च घटेको छ भने बिमा र रेन्टल खर्च बढेको छ।
लकडाउनको अवधिमा एयरलाइन्सले चार्टर्ड उडान भने गरिरहेको थियो। चार्टर्ड उडान गरेपनि त्यसबाट सिंगो एयरलाइन्सको सञ्चालन खर्चका लागि अपर्याप्त भएकाले त्यसले नाफा नोक्सानीमा ठूलो भुमिका खेल्न नसक्ने महाप्रबन्धक डिमप्रकाश पौडेलको भनाइ छ।
'लकडाउनको समयमा हामीले अपनाएको व्यापार मोडलले केही राहत त दियो। तर त्यसले सिंगो ब्यालेन्ससिटलाई खासै प्रभाव पार्न सक्दैन' पौडेलले सेतोपाटीसँग भने।
उडानसँगै ग्राउन्ड ह्यान्डलिङबाट राम्रो आम्दानी गर्ने एयरलाइन्सले ठूलो हिस्सा गुमाएको छ। कोरोनापछि अन्तर्राष्ट्रिय उडानको मुभमेन्ट नभएकाले यसबाट हुने आम्दानी न्यून रहेको छ।
गत वर्षको लकडाउनका कारणले नियमित आम्दानी गुमाउँदै आएको एयरलाइन्स पछिल्लो समय खुलेको अन्तर्राष्ट्रिय उडानमा सञ्चालन खर्च धान्ने अवस्थामा पुगेको थियो। अहिले खाडी क्षेत्रमा भइरहेका उडानमा राम्रै व्यापार भएपनि सबैभन्दा धेरै नाफाको सेक्टर नयाँ दिल्लीमा अवरोध आउनसक्ने देखिएको छ।
भारतमा कोरोना संक्रमण बढेपछि यात्रु संख्या घट्नसक्ने अनुमान गरिएको छ।