अघिल्लो वर्षको लामो लकडाउनले थला परेर विस्तारै लयमा फर्किएको विराटनगरको औद्योगिक माहोल कोरोनाको दोस्रो लहरले फेरि सुस्ताउन थालेको छ।
२०७७ को वर्षान्तभन्दा केही महिना अघिदेखि विराटनगरको माहोल पुरानै अवस्थामा फर्किसकेको थियो। औद्योगिक कच्चापदार्थको आयात बढेको थियो। उद्योगधन्दाहरु पूर्ववत चलेर धमाधम उत्पादन भइरहेको थियो। कोरोनाले रोजगारी खोसिएपछि बेरोजगार बनेका मजदुर काममा फर्केका थिए। उत्पादन बजार पुग्ने र बिक्री हुने क्रम पूर्ववत अवस्था कायम भएको थियो ।
तर, फेरि सुरु भएको कोरोना कहरले उद्योग–व्यवसाय क्षेत्रमा फेरि उही आतंक दोहोरिएको छ। अहिले नै अवस्था ठप्प भइहालेको छैन। तर, पहिले जस्तो अवस्था पनि कायम छैन। उद्योग संगठन मोरङका अनुसार चैत तेस्रो सातायता सुरु भएको कोरोनाको दोस्रो लहरसँगै विराटनगरको औद्योगिक उत्पादनमा कमी आउन थालेको छ। उद्योग व्यवसाय क्षेत्रमा मनोवैज्ञानिक असर सुरु भइसकेको छ।
‘अहिले नै २० देखि ३० प्रतिशतसम्म औद्योगिक उत्पादन कटौती भइसकेको छ’, संगठनका अध्यक्ष सुयस प्याकुरेलले सेतोपाटीसँग भने ‘यदि यही अवस्था कायम रहे अर्को सातादेखि उत्पादन ५० प्रतिशतसम्म कटौती हुने निश्चित छ।’ कोरोनाको दोस्रो लहर सुरु हुने बित्तिकै लकडाउनको त्रासले उद्योगी व्यवसायी त्रस्त रहेको उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले यदि लकडाउन भए शतप्रतिशत र नभए पनि उत्पादन आधा कटौती हुने अवस्था रहेको बताए।
उद्योग संगठन मोरङको तथ्यांक अनुसार सुनसरी मोरङ औद्योगिक करिडोर र कटहरी औद्योगिक करिडोर गरी १ हजार ७ सय ५० हाराहारी उद्योगधन्दा छन्। खाद्यान्नबाहेकका अधिकांश उद्योगको उत्पादन कटौती सुरु भइसकेको संगठनको भनाइ छ।
औद्योगिक कच्चा पदार्थका लागि भर पर्नुपर्ने कोलकाता, दिल्ली, गुजरातलगायतका भारतीय सहर अहिले कोरोनाको हटस्पट बनेका छन्। जसका कारण त्यहाँबाट आउने सामानको आकार पनि घटेको छ। ‘चैत अन्तिमसम्म औद्योगिक कच्चा पदार्थको आयात ठीकै रेसियोमा थियो’, विराटनगरस्थित रानी भन्सारका सूचना अधिकृत सन्तोष यादवले भने, ‘नयाँ वर्षयता ह्वात्तै घटेको छ। यो कोरोनाले हो या अन्य कारण भन्न सकिन्न।’
उद्योग क्षेत्रका अनुभवीहरु भने कच्चा पदार्थको आयात कम हुनुमा कोरोनाको दोस्रो लहर नै जिम्मेवार रहेको बताउँछन्।
प्रदेश १ को राजधानीसमेत रहेको औद्योगिक सहर विराटनगरमा कोरोना संक्रमणको दर अहिले ह्वात्तै बढेको छ। प्रदेशभरमा देखिएका कूल संक्रलमितमध्ये ८० प्रतिशत हिस्सा विराटनगरकै छ। यसले सबैथरी ‘मुभमेन्ट’ लाई जस्तै औद्योगिक र व्यापारिक वातावरण पनि विथोल्न थालेको उद्योगी–व्यवसायीको भनाइ छ। ‘अहिले मान्छेको गतिविधि घटेर गइसकेको छ’, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘मान्छेको आवागमन कम हुँदै गएपछि त्यसको असर बजारमा पर्छ। बजारको असर उद्योगधन्दामा पर्छ।, अब असर देखा पर्न सुरु भइसकेको छ।’ राउत स्वास्थ्य मापदण्ड अपनाएर उद्योगधन्दाहरु सुचारु राख्नुपर्ने पक्षमा छन्।
‘हामीलाई कोरोनाको पहिलो लहरमा धेरै शिक्षा प्राप्त भएको छ’, उनले भने, ‘त्यसबेला सबै उद्योगधन्दा बन्द गर्दा नकारात्मक असर देखियो। तर, अब त्यसबाट पाठ सिकेर उद्योगभन्दा सुचारु राख्नुपर्छ। स्वास्थ्य सावधानी अपनाउने, उद्योगधन्दाका मजदुरलाई खोपको प्रबन्ध गरिनुपर्छ।’
उमेर समूह वा अन्य मापदण्डका कारण मजदुरहरु अहिलेसम्म खोपको दायरामा आइनसकेको उल्लेख गर्दै उनले उद्योगका मजदुरलाई खोप अनिवार्य गरेर उद्योग चलाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
उद्योगहरु अघिल्लो वर्ष जस्तै ठप्प हुने अवस्था आए त्यो थेगिनसक्नु हुने उनको भनाइ छ। ‘गत वर्षको खाडल पुरिन अझै धेरै समय लाग्नसक्छ’, राउतले थपे, ‘त्यसमा फेरि ठप्प हुने अवस्था आयो भने क्षति अकल्पनीय हुनसक्छ।’
अघिल्लो वर्षको कहरले उद्योग व्यवसाय क्षेत्रलाई चनाखो पारेको तर विश्व बजार नै महँगिएका कारण उद्योगीहरु उपायहिन बनेको उद्योगी अविनाश बोहरा बताउँछन्। ‘अघिल्लो वर्षको जस्तो अवस्था आउला कि भनेर औद्योगिक कच्चा पदार्थ धेरै स्टक गरेर राख्न सके राम्रो हुनेथियो’, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका बोहरा भन्छन्, ‘तर, यही कोरोनाले विश्व बजार यति महँगो भएको छ कि स्टक पनि गर्न सक्ने अवस्थामा उद्योगीहरु छैनन्। त्यसैले कोरोनाको दोस्रो लहरले असर सुरु गरिसकेको छ। यसको नियन्त्रण नभए औद्योगिक अवस्था भयावह हुनसक्छ।’