काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ।
पोखरामा होटल चलाइरहेका आग्रह अर्याल र सुनिम मैनालीले खोलेको यो रेष्टुरेन्टमा १२ थरीका म:म पाइन्छ। अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ।
३० लाख लगानीमा खुलेको यो रेष्टुरेन्टको माध्यमबाट विभिन्न स्वादका म:म पाइने अर्यालले बताएका छन्।
डिल्लीबजारमा पाँच सय वर्गफिट क्षेत्रफलको आउटलेटमा एकैपटक २६ जना ग्राहक बस्नसक्ने छन्।
टेकअवे र होम डेलिभरी सेवा पनि उपलब्ध भएको सञ्चालक मैनालीले बताए। उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूसँग सम्झौता भएको छ।
रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःम पाइनेछ। 'अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःम लाई अझै प्राथमिकतामा राखेका छौं,' मैनालीले भने, 'ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं।'
प्रत्येक परिकारमा तीन थरीको अचार राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेष्टुरेन्टमा मःम सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए।