काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गर्ने आदेश जारी गरेपछि काठमाडौं छाड्नेहरुको घुँइचो लागेको छ।
प्रशासन कार्यालयहरुले काठमाडौं छोड्न चाहनेहरुका लागि दुईदिनको समय दिएका छन्। यही अवधिमा काठमाडौं बाहिर जानेहरुका कारण विमानस्थल र बसपार्कमा यात्रुको चाप देखिएको छ।
यात्रु धेरै आएपछि विमानस्थलमा हालसम्मकै धेरै आन्तरिक उडान हुने देखिएको छ। मुख्य एयरलाइन्सहरुमा सामन्य दिनको जति बुकिङ बिहानै भइसकेको छ भने यात्रुको मागको आधारमा रात्रिकालिन उडान पनि गर्ने उनीहरुको योजना छ। आन्तरिक विमानस्थलहरु राति १२ बजेसम्म पनि सञ्चालन हुने भएकाले त्यस्ता गन्तव्यमा यात्रुको माग आएमा उडान गर्ने उनीहरुको योजना छ।
कूल आन्तरिक उडानमा आधाभन्दा बढी उडान गर्ने देशकै ठूलो एयरलाइन्स बुद्ध एयरले आज १४४ उडान तथा अवतरण काठमाडौं विमानस्थलबाट गर्ने तालिका बनाएको छ। यो बुद्धका लागि काठमाडौंबाट हुने हालसम्मकै धेरै उडान हो। सामन्य अवस्थामा बुद्धले दिनमा १३० सम्म दैनिक उडान अवतरण गर्दै आएको छ। बुद्धका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार आजका लागि सात हजार यात्रुको बुकिङ आइसकेको छ र काठमाडौंबाट बाहिर जाने अहिलेसम्म तय भएका सबै उडानमा सिट भरिसकेका छन्।
'अझै दिनभरमा हुने बुकिङबाट हजार/पन्धसय यात्रु थपिन्छन् होला। यो यात्रुसंख्या पनि हाम्रा लागि हालसम्मकै धेरै हुने छ' उनले भने।
नेपालको दोस्रो ठूलो आन्तरिक उडानको एयरलाइन्स यतीले पनि आज उडान संख्या थप गरेको छ। दिनमा ६० उडान अवतरण गर्दै आएको यतीले आजका लागि अहिलेसम्म ६८ उडान गर्ने योजना बनाएको छ। तय भएका यी उडानमा काठमाडौं बाहिर जाने सबै सिट भरिएको यतीका प्रवक्ता सदर्शन बर्तौलाले जानकारी दिए।
अहिलेसम्म तय भएका उडान बाहेक पनि यतीले रात्रिकालिन उडान थप गर्नसकिने जानकारी दिएको छ। रात्रिकालिन उडान सुविधा भएका गन्तव्यमा यात्रुको माग आएमा थप उडान गर्न सकिने यतीले जानकारी दिएको छ।
श्री एयरलाइन्सले भने दैनिक उडान तालिकामा उडान संख्या थप गरेको छैन। श्रीले नियमित उडान तालिकाअनुसारमात्र उडान गर्ने र त्यसमा काठमाडौं बाहिर जाने सिट भरिएको जानकारी दिएको छ।
गत वर्षको लकडाउन एक्कासी हुँदा यात्रुले काठमाडौं बाहिर जान पाएका थिएनन्। यो पटक दुई दिनको समय भएकाले हवाइ तथा स्थल मार्गबाट यात्रुहरु धमाधम काठमाडौंबाट बाहिरिएका छन्।
निषेधाज्ञाका कारणले काठमाडौं छाड्नेहरु बढ्ने भएकाले भोलिसम्म विमानस्थलमा केही चाप बढ्ने विमानस्थल प्रमुख प्रताप तिवारीको अनुमान छ। यात्रु संख्या बढेपनि त्यसको व्यवस्थापनका लागि तत्कालिन व्यवस्था भएको उनको भनाइ छ।
'हामीले टर्मिनल बाहिर पनि टेन्ट राखेका छौं। एकै ठाउँमा धेरै भिड नहोस भनेर यसो गरेका हौं' तिवारीले भने।
यात्रुको चाप बढेपछि हवाइ भाडा भने केही महंगिएको छ। हिजोका दिनको तुलनामा भाडा केही माथि गएको एयरलाइन्सहरुले बताएका छन्।
यात्रु संख्या धेरै नहुँदा कतिपय गन्तव्यमा बसकै बराबर रहेको भाडा अहिले केही माथि गएपनि सरकारले तोकेको न्यूनतम बिन्दुसम्म पनि भाडा नपुगेको यतीका प्रवक्ता बर्तौलाले जानकारी दिए।
'हिजोसम्म काठमाडौंबाट पोखरा जान १५ सयसम्म टिकट पाइन्थ्यो। आज त्यो बढेर तीन हजार भएको छ। तर पोखराको भाडा त पाँच हजार हो' बर्तौलाले भने' आज पनि नेपालगञ्जको भाडा ६ हजारभन्दा माथि गएको छैन।'
यात्रुको संख्या बढ्दै गएपछि हवाइ भाडा ३० प्रतिशतसम्म माथि गएको छ।