काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएपनि हवाइ यातायात भने निरन्तर रहेको छ।
सरकारले हवाइ यातायातलाई जारी राख्ने भन्दै गरेको निर्णयअनुसार उडानहरु भइरहेका छन्।
आज पनि काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या उल्लेख्य रहेको एयरलाइन्स कम्पनीहरुले बताएका छन्। यद्यपी वैशाख १४ र १५ गतेको जस्तो भने आज छैन।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलकाअनुसार आज ५४ उडान तथा अतवरणको तालिका रहेको छ। यसमा काठमाडौं बाहिर जाने उडानमा ९० प्रतिशत सिट बुकिङ भएका छन्। बाहिरबाट आउने भने धेरै संख्या छैन।
वैशाख १५ गते भने काठमाडौं विमानस्थलबाट जाने र आउने यात्रु संख्या १५ हजार भन्दा धेरै थियो। यो यात्रु संख्या एक दिनको हालसम्मै उच्च भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सार्वजनिक सावारीसाधन नचलेपछि यात्रुहरुलाई टिकट देखाएपछि निजी सवारीमा विमानस्थल जान र आउन दिइएको छ। एयरलाइन्स कम्पनीहरुका अनुसार यात्रुहरु अहिलेसम्म यसैगरी आउजाउ गरिरहेका छन्।