आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान संख्या आधा घटाउन निर्देशन दिएको छ।
काठमाडौंमा निषेधाज्ञा भएपनि जारी रहेको आन्तरिक उडानलाई थप अनुशासित बनाउन भन्दै प्राधिकरणले यसअघिको उडान अनुमतिको तुलनामा आधाभन्दा बढी तालिका नबनाउन निर्देशन दिएको हो।
प्राधिकरणले निर्देशन दिनुअघि नै यात्रु अभावमा उडान आधा घटिसकेको छ। वैशाख १५ गते २९८ उडान तथा अतवरण भएका थिए। निषेधाज्ञा सुरु भएको दिन अर्थात् वैशाख १६ गते जम्मा २०८ उडान तथा अतवरणमात्र भएका थिए। आज भने जम्मा १५४ उडान तालिका रहेका छन्।
यात्रु न्यून भएको बेला कम्पनीहरुले स्वभाविक रुपमा संख्या घटाएपनि यात्रु धेरै हुँदा संख्या बढाउनसक्ने भएको भन्दै प्राधिकरणले यसअघि स्वीकृत तालिकाको पचास प्रतिशतमात्र संख्या कायम गर्न निर्देशन दिएको हो।
'विमानस्थलको टर्मिनलमा एकआपसमा दूरी कायम गर्न तथा सुरक्षाका मापदण्ड पालनामा कठिनाइ भएकाले हामीले यस्तो निर्देशन दिएका हौ' प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने।
विदेशबाट आउने उडान कायमै भएको र विदेशबाट आउने यात्रु काठमाडौं बाहिर जानका लागि आन्तरिक उडान आवश्यक भएकाले पनि उडान तत्काल नरोक्ने निष्कर्षमा सरकारक पुगेको थियो।