चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु पर्याप्त स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्पष्ट पारेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले पूर्ण रुपमा लकडाउन भए पनि चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको दावी गरे। उपभोग्य खाद्य बस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए।
महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद र सञ्चय नगर्न पनि आग्रह गरे। खाद्य पदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए।
दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्य वृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेलले बताए। बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाई छ। उनले भने– ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ। बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ।’
उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारका समस्या नभएको पनि बतए। दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ।
उनले भने ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदाम छन्, त्यो गोदामबाट काठमाडौंसम्म ल्याउनको लागि मास्क सेनिटाइजर जस्ता बस्तु र सँगसँगै उद्योगको कच्चा पदार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन।’
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताए। विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाई छ।
उनले भने ‘बजारमा दुई, तीन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ, वृद्धि हुनुपर्ने कारण केही पनि छैन। चिनीको मुल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पुरा गर्न लागे।’
मास्क, सेनिटाइजरमा पनि कालोबजारी रहेको भन्दै उनले नियन्त्रणका लागि अनुगमनमा जानुपर्ने बताए।