काठमाडौं उपत्यकाको निषेधाज्ञामा कडाइ गरिएसँगै होम डेलिभरी र इ-कमर्स व्यवसायमा प्रतिबन्ध छ। काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरू पनि होम डेलिभरी र इ-कमर्सलाई खुकुलो नबनाउने रणनीतिमा छन्।
नेपालबाहेक अन्य देशहरूमा लकडाउन भए पनि होम डेलिभरीलाई सरकारले प्राथमिकता दिने गरेको भन्दै इ-बिजनेस एसोसिएसन नेपालले यसमा केही खुकुलो रणनीति अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ
इ-बिजनेस एसोसिएसन नेपालले समग्र होम डेलिभरीका लागि प्रावधानहरू सामान्य अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाएको भन्दै सिंगापुर, चीन, पाकिस्तान, बंगलादेशका नियम हेर्न सरकारको ध्यानाकर्षण गराएको छ।
डेलिभरी र इ-कमर्समा प्रतिबन्ध लगाउनुले उपभोक्तालाई उनीहरूको किनमेल आवश्यकताहरू पूरा गर्न निषेधात्मक आदेशहरूको बाबजुद घर छोड्न बाध्य तुल्याउने व्यवसायीहरूको तर्क छ। गत वर्ष र यस वर्ष पनि फ्रन्ट लाइन कामदार र डेलिभरी सेवा अधिकारीहरूबीच अस्पष्ट समन्वयका कारण यो विषय अलमलमा परेको थियो।
'परिवारका सबैलाई कोभिडले सताएको खण्डमा उनीहरू कसरी खाना खान सक्छन्? होम डेलिभरीलाई मात्र सहज बनाए उनीहरूले होटल-रेष्टुराँबाट खाना मगाउन सक्थे। त्यो अहिले बन्द छ,' इ-बिजनेस एसोसिएसन नेपालका अध्यक्ष सागरदेव भट्टले सेतोपाटीसँग भने, 'खाना र सामान किन्न परिवारमा पूरै सदस्यलाई कोभिड लागेको छ भने ऊ बाध्य भएर बाहिर निस्कनु पर्ने हुन्छ।'
त्यस्तै उनले अनलाइन कक्षाका लागि विद्यार्थीलाई आवश्यक पर्ने स्टेसनरी, ल्यापटप, ट्याबलेट, नोटबुक, पुस्तक किन्न परे के गर्ने भन्ने प्रश्न गरे। 'घरबाट काम गरिरहेका कर्पोरेट कर्मचारीलाई मोबाइल, चार्जर, ल्यापटप र अन्य आवश्यक वस्तुको आवश्यकता पर्न सक्छ,' उनले थपे।
गत वर्ष अधिकांश व्यवसायहरू कोभिड कारण प्रभावित भए पनि इ-कमर्स क्षेत्र फस्टाएको थियो। इ-कमर्सले ग्राहकलाई उनीहरूको घरको सुविधा र सुरक्षाबाट अनेक महत्वपूर्ण विविध उत्पादनहरूका लागि पहुँच पुर्याउन सहयोग प्रदान गरेको उनीहरूको दाबी छ।
हालको प्रतिबन्धका कारण धेरै व्यवसायले कर्मचारी घटाउन पर्ने हुन्छ किनभने उनीहरूसँग पर्याप्त स्रोत छैनन्। कति व्यवसाय पूर्ण बन्द हुन सक्छन्। तर होम डेलिभरी र इ-कमर्स व्यवसाय खुले धेरैले रोजगार पाउने र साना व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा नआउने ती कम्पनीहरूले बताएका छन्।
होम डेलिभरी र इ-कमर्समा खुकुलो गरे आफूहरू सेवा दिन तयार रहेको भट्ट बताउँछन्। होम डेलिभरी र इ-कमर्स व्यवसायीले सुरक्षा मापदण्ड पूर्ण रूपमा अपनाउने पनि उनले बताए।
महामारी बेला निषेधाज्ञा गर्नु सही भए पनि तर नेपाल जस्तो बजारमा होम डेलिभरी रोक्न उचित नहुने दराज नेपालका एमडी लिनो अहलेरिङ्गले बताए।
'अर्थतन्त्रका लागि र इ-कमर्समा जोडिएका व्यवसायीको व्यापार चलायमान राख्न सुरक्षित रूपमा होम डेलिभरी सञ्चालन गर्न जरूरी छ,' उनले भने।
होम डेलिभरी सेवा सञ्चालन गरिरहँदा व्यवसायीका साथै उपभोक्तालाई पनि धेरै सहज हुने उनको भनाइ छ। यसबाट बजार अर्थतन्त्र पनि धेरै खस्किन नपाउने दाबी उनको छ।
उनका अनुसार संसारभर यो महामारी बेला इ-कमर्स व्यवसाय उपयोगी देखिएको छ। मानिसहरूलाई होम डेलिभरी सुविधा नभए पसलहरूमा झन् धेरै भिडभाड हुन्छ र जोखिम बढ्छ।
'इ कमर्सको सुन्दरता भनेकै मानिसहरूलाई जोखिममा बाहिर जान पर्दैन,' उनले थपे, हामीले बरू यसलाई कसरी सुरक्षित हिसाबमा सञ्चालन गर्न सक्छौं भनेर छलफल गर्न र मापदण्ड बनाउन सकिन्छ। तर रोक्नु कदापी राम्रो होइन।'
चारैतिर बन्द भएका बेला मानिसहरूलाई किनमेलमा समस्या हुन्छ। अत्यावश्यक खाद्य सामग्रीका साथै दैनिक जीवनमा चाहिने अन्य सामान पनि होम डेलिभरी मार्फत् किन्न सकिने भन्दै उनले इ-कमर्स व्यवसायलाई यस्तो बेला झनै प्रोत्साहन गरिनुपर्ने उनले बताए।
'यस्तो बेलामा मानिसहरूले आफूलाई चाहिने सबै सामान बजार गएर किन्न सक्दैनन्,' उनले भने, 'उनीहरूको आवश्यकता पूर्ति गर्न इ-कमर्स नै भरपर्दो माध्यम हो। विदेशको तुलनामा नेपालमा इ-कमर्समा धेरै नै बन्देज लगाइएको छ। सुरक्षा अपनाएर यसलाई खुकुलो गराउनुपर्छ।'
दराजले होम डेलिभरी सेवा नरोक्न सरकारसँग कुराकानी गरिरहेको पनि उनले जानकारी दिए।
मुकुन्डो डट कमका बजार प्रमुख यदु भट्टराईले पनि होम डेलिभरी खोल्न सरकारसँग माग गरे। उनले होम डेलिभरी र इ-कमर्सले लकडाउनमा घरमा बसेकालाई सहजता प्रदान गर्ने दाबी गरे।