नेपाली व्यवसायीहरुका प्रतिनिधिमुलक संस्थाहरुले प्रयोगमा नआएका अक्सिजन सिलिन्डर ग्याँस उत्पादक कम्पनीमा बुझाउन आग्रह गरेका छन्।
औद्योगिक क्षेत्रमा अक्सिजन खपत गर्ने उद्योगहरुलाई उनीहरुले यस्तो आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका अध्यक्षहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कोरोनाको महामारीमा अत्यावश्यक हुने तर पर्याप्त नभएका सिलिन्डरको सञ्चिति नगर्न आग्रह गरिएको छ।
'मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासंग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ। सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दछौ । यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर संचिति नगरि दिन हुन आग्रह गर्दछौ' विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज जारी गरिएको विज्ञप्ति मार्फत् यी संस्थाहरुले बजारमा मूल्यबृद्धि भइरहेको भन्ने खबरप्रति चासो व्यक्त गरेका छन्। संकटको समयमा कसैले पनि अनावश्यक सञ्चिति गर्न नहुने तथा अधिक नाफाका लागि मौका पनि नबनाउन आग्रह गरिएको छ।