कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि अस्पतालहरूले बढी मूल्य लिएर बेचेको पाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको काठमाडौं उपत्यकाका ठूला अस्पतालहरूको अनुगमनमा उनीहरूले ५१ सय रूपैयाँ बढी लिएको पाइएको हो।
अनुगमनका क्रममा आयातकर्ताबाट अस्पतालहरूलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्तसमेत नभएको पाइएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।
‘औषधिको उपलब्धता एकदमै न्यून छ,भएकाले पनि अधिक मूल्य लिएको पाइयो,’ उनले भने।
वितरण पद्धति प्रभावकारी नहुँदा औषधि एक अस्पतालमा सञ्चित भइरहेको र अर्को अस्पतालमा अभाव भइरहेको उनले बताए।
उनका अनुसार अनुगमन गरिएका प्राय: अस्पतालमा बिरामीको अनुपातमा बेड कम छ भने अस्पतालमा नै तोकिएको स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन।
अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच फरक रहेको उनले बताए।
अनुगमनका क्रममा कतिपय अस्पतालका हकमा थप अध्ययनका लागि कागजात पेश गर्न निर्देशन दिएको उनले बताए।
‘केही अस्पतालको नियम, उपलब्ध सेवा र शुल्कका बारेमा थप अध्ययन गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले आवश्यक कागजात लिएर उपस्थित हुन निर्देशन दिएका छौं।’
रेम्डेसिभिर औषधिको आयात, आपूर्ति, वितरण, उपलब्धता, अस्पतालहरूमा उपलब्ध सेवाहरू शुल्क समेतमा केन्द्रित भई वाणिज्य विभाग, औषधि विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल प्रहरीको सहभागितामा बिहीबार ७ ठूला अस्पतालमा अनुगमन गरिएको थियो।
सिभिल अस्पताल, काठमाडौं मेडिकल कजेल, सिनामंगल, ओम नर्सिङ , चाबहिलको मेडिकेयर, ह्याम्स, मेट्रो र ग्राण्डीमा अनुगमन गरेको हो।