कोरोना महामारीको जोखिम बढ्दै गएपछि देशका अधिकांस ठाउँमा निषेधाज्ञासँगै हवाइ तथा स्थल सार्वजनिक यातायात बन्द भएपछि हेलिकप्टरको उडान बढेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार काठमाडौंबाट जाने र आउने उडान संख्या दैनिक पचास पुगेको छ।
विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार शनिबार हेलिकप्टर उडान तथा अवतरण ५१ पुगेको छ। यी उडानबाट कूल ११० जना यात्रुले यात्रा गरेका थिए।
यी मध्ये १६ उडान तथा अतवरण कोरोना संक्रमित बिरामीका लागि भएका थिए। यसमा ८ मनाङ र ८ सिम्रिक एयरले गरेका थिए। यस बाहेकका अरु उडान भने हिमाल आरोहणमा गएका पर्यटकको उद्धारमा प्रयोग भएका थिए।
नियमित हवाइ उडान बन्द भएसँगै हेलिकप्टरको उडान बढ्न सुरु गरेको थियो।
उडान संख्या बढेपनि हेलिकप्टर सेवाप्रदायकहरुले भाडा बढी असुल गरेको सर्वसधारणहरुले गुनासो गरेका छन्। विशेषगरी कोरोना संक्रमित बिरामीका लागि चार्टर्ड गरिएका उडानमा महंगो शुल्क लिएको गुनासो आइरहेको छ। यद्यपी यस्तो गुनासो नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म आएको छैन।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिलेसम्म त्यस्तो कुनै पनि उजुरी नआएको जानकारी दिए।