चिनी उद्योगीहरूले चिनीको मूल्य बढाएका छन्। उत्पादनमा कमी आएकाले चिनीको मूल्य बढेको चिनी उत्पादन संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए।
‘अहिले चिनीको उत्पादन नै कम छ। किसानले उखु लगाएका छैनन्,’ उनले भने 'क्षमताअनुसार मेसिन चलाउन नसक्दा चिनीको लागत नै बढेको छ।’
आफ्नै लागत बढेकाले अहिले चिनीको मूल्य बढ्न गएको उनी बताउँछन्। उनकाअनुसार पहिले ७८ रूपैयाँमा बेचिरहेको चिनी अहिले अभाव भएपछि ८६ रूपैयाँ पुर्याइएको हो।
अनाधिकृत रुपमा भारतबाट आउने गरेको चिनी कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको कडाइका कारण नआएकाले त्यही मौकाको फाइदा उठाएर उद्योगीले चिनीको मूल्य बढाएको किराना व्यवसायी चन्द्र थापाको दावी छ।
‘यो पहिलेको चिनी हो, अहिलेको उखुको चिनी त अब केही समयपछि आउन सुरू हुन्छ,’ उनले भने। उनको पसल सामाखुशी गल्खुपाखामा छ। उनले अहिले प्रतिकिलो ८५ रूपैयाँमा बेचिरहेका छन्।
‘पहिले ल्याएको चिनी भएर सो मूल्यमा बेचेको हो, अब आउने नयाँ चिनी उतै ८६ रूपैयाँ भनेपछि हामीले कसरी बेच्ने,’ उनले प्रश्न गरे।
उद्योगीले महामारीको बेला अत्यावश्यक वस्तु चिनीको मूल्य बढाएकोमा सरकारले अनुगमन गर्नुपर्ने उनले बताए।
बजारमा चिनीको मूल्य नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेशसनले आयातित चिनी बेच्छ। अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति नदिँदा कर्पोरेशनमा चिनीको मौज्दात सकिँदै गएको विभागका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए।
कर्पोरेशनसँग हाल ७ सय टन चिनी मौज्दात छ। उसले हाल बजारमा प्रतिकिलो ७७ रूपैयाँ ७५ पैसामा बिक्री गर्दै आएको छ।
उनका अनुसार कर्पोरेशनले दशैंअघि नै ५० हजार टन चिनी आयात गर्न अर्थसँग स्वीकृत मागेको थियो।
अर्थले सो समयमा २० हजार टन चिनी ल्याउन स्वीकृति दिएको थियो। कर्पोरेशनले त्यही चिनी अहिलेसम्म बेच्दै आएको छ।
‘पहिले हामीले व्यापारीलाई पनि दिन्थ्यौं, अहिले मौज्दात सकिँदै गएकाले उपभोक्तालाई मात्र बेच्छौं,’ उनले भने।
मौज्दात रहेको चिनी बजारको मागअनुसार कहिले सकिन्छ भन्ने थाहा नभएको उनको भनाइ छ।
चिनीको मूल्यको विषयमा उखु किसान, चिनी उद्योगी र सरकार बीच सधैँ वादविवाद पर्दै आएको छ। तीन वटा निकाएको विवादमा उपभोक्ता ठगिने गर्दछन्।
स्वदेशी चिनी महङ्गो भएपछि उपभोक्ताले आयातित चिनी ५७ देखि ६५ रूपैयाँसम्म तिरेर खाएका थिए। तर सरकारले आयातित चिनीमा कोटा निर्धारण गरेपछि उपभोक्ता महँगो चिनी किनेर खान बाध्य भएका छन्।