नेपाल उद्योग परिसंघले आफ्नो सदस्य होङ्सी शिवम तर्फबाट ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष सतिशकुमार मोरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।
परिसंघको तर्फबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री त्रिपाठीले महामारी तथा अक्सिजन अभावको अहिलेको अवस्थामा यस्ता सामग्री अक्सिजन सिलिन्डरको विकल्पको रूपमा प्रयोग हुने बताए।
त्यस्तै परिसंघका अध्यक्ष मोरले राष्ट्रिय संकटको बेला निजी क्षेत्र सरकारसँगै रहेको उल्लेख गरे।
कोभिड-१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानमा निशेधाज्ञा जारी भएको छ। कोभिड-१९ संक्रमण बढ्दै जाँदा बिरामीको चाप बढ्दै गएको छ भने जसका कारण अक्सिजन र अक्सिजन सिलिण्डर अभाव हुन थालेको छ।
परिसंघले संकटको बेला अत्यावश्यक सामग्री उपलब्ध गराएकोमा होङ्सी शिवम सिमेन्टलाई धन्यवाद दिएको छ।