नेपाल एयरलाइन्सले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक मेडिकल सामग्री आपूर्तिका लागि कार्गो उडान गर्ने भएको छ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले विदेशबाट ल्याउनुपर्ने मेडिकल सामग्रीका लागि उडान यसअघि नै सुरु गरेको छ। अब यसलाई निरन्तरता दिइने महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।
पहिलो मेडिकल कार्गो उडानका रुपमा नेपाल एयरलाइन्सले चीनबाट चार सय अक्सिजन सिलिन्डर ल्याएको थियो। त्योसँगै अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर पनि ल्याएको छ।
तत्कालका लागि २ हजार अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल एयरलाइन्सलाई जिम्मेवारी सरकारले दिएको छ। बेइजिङमा सिलिन्डर तयार हुने वित्तिकै यहाँबाट गएर ल्याइने पौडेलले जानकारी दिए।
'हामीले एउटा उडानमा छ सयसम्म सिलिन्डर ल्याउन सक्छौं ए३३० जहाजमा। तर उता कति तयार हुन्छ भन्नेमा भर पर्छ। आगामी उडानमा पाँच सय सिलिन्डर तयार हुने बताइएको छ। हामी त्यही ल्याएर आउछौं' पौडेलले सेतोपाटीसँग भने।
नेपाल एयरलाइन्स सिलिन्डर ल्याउनका लागि शनिबार ओमन पनि जाने भएको छ। नेपाल पठाउनका लागि ओमनमा तयारी अवस्थामा रहेका छ सय सिलिन्डर ल्याउनका लागि शनिबार ए३३० जहाज जाने छ। गैरआवासीय नेपाल संघ ओमनले खरिद गरेका ती सिलिन्डर ल्याउनका लागि ढुवानी भाडा भने नेपाल सरकारले तिर्ने छ।
नेपाल एयरलाइन्सले सरकारी चार्टर्ड उडानमा पाँच प्रतिशतसम्म भाडा छुट दिंदै आएको छ।