संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाल भारतसँग जस्तै सिमित उडान कतारसँग पनि खोल्ने बारे छलफल अघि बढाएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गएको दुई सातादेखि नियमित हवाई उडानमा रोक लगाएको छ। अहिले चार्टर्ड उडानमात्र भइरहेको सन्दर्भमा भारतसँग खुला राखिएको जस्तो उडान कतारसँग पनि खोल्नुपर्ने माग बढेपछि मन्त्रालयले यस बारेमा छलफल अघि बढाएको हो।
अहिले पनि करिब दुई हजारभन्दा बढी विदेशी पर्यटक हिमाली क्षेत्रमा गएका छन्। उनीहरु फर्किएर आएपछि कतार हुँदै आफ्नो देश जान सजिलो हुने र वैदेशिक रोजगारीमा जाने तथा फर्किएर आउनेका लागि पनि सहज हुने भएकाले सिमित उडान खुलाउनका लागि छलफल भइरहेको छ। 'हामीले यिनै विषयको वरिपरि छलफल गरिरहेका छौं। यद्यपी यो सिसिएमसीमा छलफल भएपछिमात्र टुंगो लाग्छ' मन्त्रालय सम्बद्ध एक अधिकारीले भने।
अहिले अरु सबै गन्त्यव्यमा नियमित उडानमा रोक लगाएपनि भारतसँग भने हप्तामा दुई उडान गरिएको छ।यसमा एउटा नेपाल एयरलाइन्स र एउटा एयर इन्डियाले उडान गरिरहेका छन्। कतारसँग पनि यस्तै मोडालिटीमा उडान खोल्न सकिने बारे छलफल भइरहेको छ।