चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको आइसियू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे।
त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरे।
सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आइसियू वार्ड बनाउन यस्तो पहल गरिएको हो।
अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर/प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।
चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरु सन्तुष्ट रहेको बताए।
‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ’ उनले भने ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ।’ नाम्स उपकुलपति शाहले थपिने वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिने विश्वास व्यक्त गरे।
नबिल बैंकका सिइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे। ‘जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ, त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौं।’