तपाईं कुनै नयाँ ठाउँमा जाँदै हुनुहुन्छ? कहाँ बस्ने, होटल कसरी बुकिङ गर्ने भन्ने चिन्ता लागेको छ भने ‘अतिथि घर’ एपबाट सजिलै बुक गर्न सक्नुहुन्छ।
यो एप atithighar.com एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ।
यो नेपाली एप हो। सूचना प्रविधि व्यवसायी र पर्यटन व्यवसायी गरी ५ जनाको समुह मिलेर यो एप सञ्चालनमा ल्याएको हो।
पहिले भारतीय एप ओयोबाट ग्राहकहरूले होटल बुकिङ गर्ने गदर्थे। ओयो नेपालबाट हटेपछि वेबसाइट, फेसबुक, इस्टा वा फोनबाट होटल बुकिङ गर्नुपर्ने बाध्यता थियो।
यसैलाई मध्येनजर गरेर ‘अतिथि घर’ एप सञ्चालनमा ल्याइएको एपका निर्देशक टङ्क बहादुर पुरी (विश्व)ले जानकारी दिए।
‘विदेशी एपबाट बुकिङ गर्दा वार्षिक करोडौं रूपैयाँ बाहिरिएको थियो। अब त्यो मुद्रा यहीँ सञ्चित हुन्छ,’ उनले भने।
पहिलो लहरको महामारी पछि आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एप सञ्चालनमा ल्याइएको उनी बताउँछन्। तर पहिलो लहरको महामारीबाट पर्यटन व्यवसाय नउक्सिँदै दोस्रो लहरको महामारीले गाँजेको छ।
यो एपमा संसारभरिका ग्राहकले यहाँका होटल बुक गर्न सक्छन्। यो एपबाट होटल बुकिङ गर्दा ग्राहकले फोन पे, इसेवा तथा जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सकिने उनले बताए।
अहिले एपमा काठमाडौं, भक्तपुर र ललितपुर गरी ५० वटा होटल छन्। एपमा सस्तोदेखि महंगासम्मका होटल छन्। एपबाट होटल बुकिङ गर्दा ग्राहकले अझै सस्तोमा पाउने उनले बताए।
ग्राहकलाई होटल खोज्न सहज होस् भनेर कम्पनीले एपमा नक्सा समेत राखिदिएको छ। ग्राहकले बुकिङ क्यान्सिल गर्दा शुल्क लाग्ने वा नलाग्ने, पैसा फिर्ता हुने वा नहुने लगायतका सबै जानकारी एपमै पाउँछन्।
महामारी पछि विभिन्न योजना ल्याएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उनले बताए।
‘अहिलेसम्म हिमालतिरका होटल एपबाट बुकिङ गर्न सकिँदै, अब हामी त्यसलाई पनि एपमा जोड्छौं,’ उनले भने, पछि विस्तारै भारत हुँदै विश्वभरि नै लैजान्छौं।’