कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयूक्त प्रयासमा सहयोगको हात बढाएका छन्।
दुबै समूहले संयूक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’लाई हस्तानान्तरण गरिसकेका छन्।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर, सशस्त्र प्रहरी बल अस्पताल रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि केही सामग्री हस्तानान्तरण गरिसकेका छन् भने केही समग्री एकदुई दिनमै हस्तानान्तण गर्दैछन्।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगी हात निरन्तर अघि बढ्ने बताए।
यो समूहका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ। फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभायर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शैयामा ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ।
दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाका लागि आवश्यक सामग्री हस्तानान्तरण गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका १०० शैयाका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ।
शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्ब र रेगुलेटर सहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एक–दुई दिनमै हस्तानान्तरण गर्दैछ। यस्तै रुपन्देहीमा अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपिएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एकसय थान सिलिण्डर हस्तानान्तरण गर्दैछ।
सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पिपिई सेट प्रदान गरिसकेको छ। यसअघि उक्त समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयमसेवामा खटिएका हामी नेपालका स्वयमसेवकका लागि २५० पिपिई सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ।