सरकारले उद्योग व्यवसायीलाई दिने जग्गाको हदबन्दी छुटमा कडाइ गरेको छ।
जग्गाको हदबन्दी छुट आदेश २०७८ मार्फत् यसअघिको लचक व्यवस्थालाई झन् कडा बनाइएको हो।
सरकारले जारी गरेको आदेशमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने तर त्यसरी खरिद गरिएको जग्गा धितो,बन्धक राखी ऋण लिन नपाइने व्यवस्था गरिएको छ।
यसअघि २०७४ सालमा जारी गरिएको आदेशमा हदबन्दी छुट पाएका उद्योगहरुले उद्योगको नाममा भएको सम्पूर्ण जग्गाको ५० प्रतिशत जग्गा बन्धक वा धितोमा राख्न सकिने व्यवस्था गरिएको थियो।
विभिन्न सात प्रकारका उद्योगहरुले ऐनले तोकिएभन्दा बढी खरिद गर्न पाउने आदेशमा व्यवस्था छ। आदेशमा निर्धारण नभएका उद्योग व्यवसायले भने मन्त्रीपरिषदको निर्णयबाटमात्र खरिद अनुमति पाउछन्।
सरकारले कस्ता उद्योगले कुन क्षेत्रमा कतिसम्म हदभन्दा बढीको जमिन खरिद गर्न पाउछन् भनेर उल्लेख गरेको छ। आदेशमा उल्लेख गरिएभन्दा बढीको जमिन खरिद गर्ने अनुमति सरकारले दिने छैन।
यसरी हदभन्दा बढीको जमिन खरिदको अनुमति पाएका उद्योगहरुले जुन उद्देश्य लिएर खरिद गरेका हुन्छन् सोही प्रायोजनमा उपयोग गर्नुपर्ने हुन्छ।