वैदेशिक वस्तु व्यापारमा नेपालले पहिलोपटक एक खर्ब रुपैयाँको निर्यात गरेको छ।
नीतिदेखि सरकारी घोषणामा वार्षिक खर्बको निर्यात गर्ने लक्ष्य लिंदै आएपनि पहिलोपटक यो लक्ष्य हात परेको हो।
चालु वर्षको १० महिनामै नेपालको वस्तु व्यापारमा १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल रहेको छ।
यो वर्षदेखि निर्यातको पहिलो सूचीमा आएको भटमासको तेलकै कारण निर्यातमा सुधार देखिएको हो। नेपालमा भटमास भने उत्पादन हुँदैन। विदेशबाट भटमासको कच्चा तेल ल्याइ नेपालमा प्रसोधन गरेर भारत निर्यात हुँदै आएको छ।
अघिल्ला दुई आर्थिक वर्ष यसैगरी पाम तेलको निर्यातमा उछाल आएको थियो। तर यही वर्षदेखि भारतले पाम तेल नेपालमा पर्याप्त भ्यालुएड नभइ निर्यात गरिएको भन्दै आयातमा प्रतिबन्ध लगाइदिएको थियो।
त्यस्तै दोस्रो सर्वाधिक निर्यात हुने वस्तु हो कार्पेट तथा धागोको निर्यात हो। जसको निर्यात ५ अर्ब ९८ करोड बराबरको भएको छ। त्यस्तै यही अवधिमा अलैची पनि पाँच अर्बकै निर्यात भएको छ भने कालो चिया ३ अर्बको निर्यात भएको छ।
त्यस्तै २ अर्ब माथिको निर्यात हुने वस्तुको सूचीमा जुस, तयारी पोशाक, उनीका सामग्रीहरु रहेका छन्। गएको साउनदेखि वैशाखसम्मको व्यापार तथ्यांकअनुसार १२ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो।
अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेर यो दश महिनामा व्यापार घाटा ११ खर्ब ४५ अर्ब पुगेको छ।