सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ।
अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बस बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरू अहिले अलपत्र छन्।
महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरूको अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित छन्।
‘गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरू सञ्चालनमा आए’, अध्यक्ष पन्तले भने, ‘त्यो बेला पनि स्वास्थ्य सर्तकता अपनाउँदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए।’
भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर-नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रूटमा चल्ने यातायात अझ बढी चौपट भएका छन्।
कोरोना नियन्त्रणका लागि सरकारले नेपाल-भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न सहरहरूमा सञ्चालनमा रहेका बसहरू झण्डै २२ महिनादेखि बन्द छन्।
‘महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे’, पन्तले भने, ‘बैंकहरूले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरू निकै तनावमा छन्।’
महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ।
करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरूलाई गन्तव्यमा पुर्याउन पाँचदेखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ।
‘भारतबाट आउनेहरूमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरू बिना भ्याक्सिन जोखिम मोलेर गन्तव्यमा पुर्याउने काममा खटिएका छन्’, उनले भने,‘बस मजदूरहरू पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ।’
उनले भारतबाट फर्किरहेका दैनिक सयौं यात्रुहरू लिएर बस मजदूरहरू काठमाडौं, नेपालगञ्ज, सुर्खेत, दैलेखका साथै सुदूरपश्चिमका पहाडी जिल्लासम्म पुगिरहेको बताए।
‘निषेधाज्ञा अवधिको बैंक ब्याजसम्म छुट गराउन राज्यले पहल गरिदिनुपर्छ’, उनले भने,‘सार्वजनिक यातायातले नै यहाँको पर्यटन र होटल व्यवसाय क्षेत्र पनि चलायमान बनाउँदै आएको थियो।’
लामो समयदेखि कोरोना कहरको मार खेपिरहेका बस व्यवसायीहरूलाई सहुलियत हुने खालका प्याकेज सरकारले ल्याइदिनुपर्ने व्यवसायीहरूको माग छ।
उनीहरूले यातायात क्षेत्र नराम्ररी प्रभावित हुँदा आफूहरूले पेशा नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था आइरहेको पीडा पोखेका छन्।
त्यसैगरी महाकाली यातायत समितिका पूर्वअध्यक्ष नवीन भट्टले कोरोना कहरले यातायात क्षेत्र निकै प्रभावित बनेको बताए।
‘भारत बसहरू नचलेको १५ महिना भयो, किस्ता तिर्नै समस्या छ’, उनले भने,‘यता गाडी बन्द हुँदा बैंकमा किस्ता बुझाउनुपर्दा व्यवसायी समस्यामा छन्।’
त्यसैगरी यहाँको पवनदुत बस व्यवसायी कम्पनी प्रालिका उपाध्यक्ष महेश बोहराले बसहरू लामो समयदेखि थन्किदा बिग्रिन थालेको बताए।
‘बसहरू सञ्चालनमा नआउँदा बसपार्ककै टायर पड्किने, इञ्जिनमा खराबी लगायतका समस्या देखिन थाले’, बोहराले भने, ‘आर्थिक रूपले पनि लाखौंको नोक्सानी व्यहोर्न बाध्य छौं।’
उनले अहिलेको महामारीको अवस्था क्रमिक रूपमा सुधार आउन थाले पनि यातायात क्षेत्र लयमा फर्किन समस्या लाग्ने बताए।
‘यात्रुहरू कोरोनाको त्रासले सार्वजनिक यातायात प्रयोग गर्न नै केही समय डराउने स्थिति छ’, उनले भने, ‘स्वास्थ्य सर्तकता सबै क्षेत्रमा अपनाउन जरूरी छ।’ रासस