सरकारले चकलेटमा लाग्ने भन्सार १० प्रतिशत बढाएको छ। आगामी आर्थिक वर्षको आर्थिक अध्यादेशबाट सरकारले कोकोआबाट बनेका चलकेटको भन्सारदर ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्याएको छ।
चालु वर्षको बजेट अघि सबै चकलेटको भन्सार दर एउटै भएपनि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले कोकोआ चकलेटको दर घटाएर ३० प्रतिशतमा झारेका थिए। उक्त निर्णय विवादित बनेको थियो।
अर्थमन्त्री खतिवडाले यसबारेमा संसदमै जवाफ दिनुपरेको थियो। अर्थमन्त्री विष्णु पौडेलले उक्त करको दर उल्ट्याइदिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा मुख्य दुईथरी चकलेट आउँछन्- एउटा कोकोआ पाउडर मिसिएको, अर्को चिनीबाट बनेका।
यो नीतिपछि अब विदेशबाट आउने कोकोआ मिसिएका चकलेटको भाउ केही बढ्ने छ।
खतिवडाले केटाकेटीलाई खुवाउने दूधमा भने ४० प्रतिशत भन्सार लगाएका थिए। यो दरलाई सरकारल २० प्रतिशतमा झारेको छ।
बच्चा जन्मिएको ६ महिनासम्म (शिशुलाई) खुवाउन मिल्ने धूलो दूधमा भने पाँच प्रतिशत भन्सार कायम छ। तर ६ महिनापछि पनि खुवाउन मिल्ने दूधमा ४० बाट २० प्रतिशत बनाइएको हो।