पछिल्लो समय बजारमा खानेतेलको मूल्य अत्याधिक बढेको छ।
बजारमा निरन्तर मूल्य बढ्न थालेपछि बजार अनुमगन गर्ने सरकारी निकायले तेल उत्पादकहरुसँग स्पष्टिकरण माग गरेको थियो।
सार्वजनिक रुपमै तेलको मूल्यमा भएको बृद्धिबारे प्रश्न उठेपछि उद्योगीले प्रतिक्रिया दिएका छन्।
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आज एक विज्ञप्ति जारी गर्दै प्रशोधित खाने तेलमा भएको मूल्य बृद्धिको कारण बारे जानकारी दिएको छ ।
संघले नेपालमा भएका २० वटा तेल उत्पादन तथा प्रसोधन गर्ने उद्योगले तोरी, सुर्यमुखी र भटमासको कच्चा तेल विदेशबाटमात्र ल्याउने गरेको जानकारी दिएको छ।
ब्राजिल, अर्जेन्टिना,क्यानडा, अष्ट्रेलिया तथा युक्रेन लगायतका देशबाट तेलको कच्चा पदार्थ आउने गरेको छ। यी देशहरुमै कच्चा तेल तथा तोरीको गेडामा मूल्य बृद्धि भएका कारण नेपालमा पनि मूल्य बृद्धि भएको संघले प्रष्टिकरण दिएको छ।
त्यस्तै पछिल्लो समय भारतको पश्चिम बंगालमा भएको चुनाव तथा कोरोना संक्रमण फैलिएपछि भएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि नेपालसम्म ल्याउने ढुवानी भाडा पनि बढाएकाले मूल्य बढ्न गएको संघको धारणा छ।