पछिल्लो समय अण्डाको माग बढेको छ। कोरोना भाइरसका कारण अण्डाको माग बढेको व्यवसायीहरू बताउँछन्।
अण्डामा रोगसँग लड्ने क्षमता हुने भएकाले महामारीका बेला अण्डाको माग बढेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए।
उनका अनुसार उत्पादन भएको अण्डा दैनिक खपत हुने गरेको छ।
‘अहिले दैनिक २८ लाखको हाराहारीमा अण्डा उत्पादन भएको छ, त्यो सबै बिक्री हुन्छ,’ उनले भने, ‘गर्मी बढ्यो भने केही उत्पादन घट्छ,’ उनले भने।
उत्पादन कम भएको समयमा भने माग धान्न गाह्रो हुने उनी बताउँछन्।
‘उत्पादन कम भयो भने केही असहज हुन्छ, नभए अहिले मागअनुसारको उत्पादन पनि भएको छ, बिक्री पनि,’ उनले भने।
अण्डा ढुवानी गर्न केही समस्या नभएकोले सबैतिर मागअनुसार अण्डा वितरण भएको उनले जानकारी दिए।
केही दुर्गम ठाउँमा भने बाटोको समस्या र थोरै माग आएकाले सबैले पुर्याउन नसकेको उनको भनाइ छ।
अण्डाले कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले उपभोग बढेको छ।
पहिले आवश्यकता अनुसार पसलमा १÷२ वटा किन्ने ग्राहकले पनि अहिले क्यारेटनै अण्डा लैजाने गरेको उनले बताए। एक क्यारेटमा ३० वटा अण्डा हुन्छ।
‘पहिले पसल खुल्लै हुन्थ्यो र आवश्यकता अनुसार लैजान्थे, अहिले पसल बन्द हुने भएकाले क्यारेट नै लैजान्छन्,’ उनले भने।
शहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा पनि अण्डाको उपभोग बढेको उनी बताउँछन्। उनका अनुसार अहिले फार्मबाटै अण्डा लैजाने ग्राहकको पनि भीड हुन्छ।
पछिल्लो समय माग बढेकाले अण्डाको मूल्य पनि बढ्न गएको छ।
उनका अनुसार कोरोना भाइरस फैलिनुभन्दा अघि दैनिक ३२ देखि ३३ लाख अण्डा उत्पादन हुन्थ्यो, संक्रमण फैलिएपछि अण्डाको उत्पादन दैनिक २७ देखि २८ लाखमा झरेको छ।
चितवनमा किसानहरूले मध्यम साइजको अण्डा प्रतिक्यारेट ३ सय ४० रूपैयाँ र ठूलो साइजको प्रतिक्यारेट ३ सय ७० रूपैयाँ पाइरहेको उनले बताए।
बजारमा यो मूल्य कायम भएको एक महिना हुन लाग्यो। यसअघि मध्यम साइजको अण्डाको मूल्य ३ सय १० थियो भने ठूलो साइजको ३ सय ४० रूपैयाँ थियो।
उनका अनुसार ४५ ग्राम भन्दा माथिको मध्यम अन्तर्गत पर्छ भने ५५ ग्राम भन्दा माथिको अण्डा ठूलो साइजमा पर्दछ।
गत वर्ष कोरोना संक्रमणको बेला पनि अण्डाको मूल्य बढेको थियो। अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढ्ने भन्दै डाक्टरले अण्डा खान सुझाएपछि एकाएक व्यापारीले अण्डाको मूल्य बढाएका थिए।
संक्रमणको सुरूआतमा प्रतिक्यारेट २ सय ८० देखि ३ सय रूपैयाँमा पाइरहेको अण्डा बीचमा ४ सय देखि ४ सय ५० सम्म तिरेर उपभोक्ता खान बाध्य थिए।
अहिले पनि दोस्रो लहरको कोरोना फैलिएसँगै अण्डाको मूल्य र माग बढेको छ।
अण्डाको मूल्य बढेसँगै उपभोक्ताले ठूलो साइजको अण्डा प्रति क्यारेट ४ सय ३० रूपैयाँ तिर्नुपर्ने परेको छ।
खुद्रा व्यवसायी चन्द्र थापाका अनुसार अहिले प्रतिक्यारेट ठूलो साइजको ४ सय ३० र मध्यम साइजको अण्डा ३ सय ८० देखि ४ सयमा बिक्री गरिएको छ।
‘पहिले सबै साइजका अण्डा ३ सय ५० देखि ३ सय ८० बेच्दै आएका थियौं,’ उनले भने, ‘खुद्रा प्रतिवटा १५ रूपैयाँले दिएका छौं।’
पछिल्लो समय खाद्यान्न किन्न आउने सबै ग्राहकले अण्डा लैजाने गरेको उनले बताए।
चितवन, झापा, मोरङ, सुनसरी दाङ तथा मकवानपुरमा अण्डा बढी उत्पादन गरेको छ। जसमध्ये काठमाडौं उपत्यकामा चितवनबाट धेरै अण्डा आउँछ।