दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले आफ्नो मोबाइल उत्पादन बन्द गरेको छ।
एलजी आउँदो अप्रिलमा आधिकारिक रुपमा मोबाइल व्यवसायबाट बाहिर निस्किने छ। यसको लागि अपरेसन बन्द गर्न कम्पनीलाई केही समय आवश्यक पर्ने जिएसएम एरेनाले बताएको छ।
कोरियाली रिर्पोटका अनुसार सोमबार एलजी फोन र ट्याब्लेट उत्पादनको अन्तिम दिन थियो। कम्पनीले आफ्ना उत्पादन भइसकेका उपकरणलाई केही समय साथ दिरहेको छ।
एलजीका प्रिमियम मोडलका फोनले तीन वर्षको सफ्टवयेर समर्थन पाउनेछ। यसका कियू सिरिजका फोनले एन्ड्रोइड–१२ संस्करणसम्मको सफ्टवयेर अपडेट पाउनेछ भने प्रिमियम मोडलमा एन्ड्रोइड–१३ सफ्टवयेर हुनेछ।
कम्पनीका प्रयोगकर्ताले उपकरण निर्माण भएको मितिदेखि चार वर्षको समयसम्म सेवाहरु पनि प्राप्त गर्न सक्ने जिएसएम एरेनाले जनाएको छ।
मोबाइल उत्पादन बन्द भएसँगै एलजीले मुख्यगरी घरायसी उपकरण निर्माण गर्ने योजना बनाइरहेको छ। एलजीका अधिकांश मोबाइल निर्माण हुने भियतनामस्थित एलजी इलेक्ट्रोनिक्सको कारखानामा अब घरमा उपयोगी हुने उपकरण मात्र उत्पादन हुनेछ।
सन् २०१५ मा सस्थापित भएको भियतनामको हाइफोगंस्थित एलजी इलेक्ट्रोनिक्सले मोबाइलका साथै टिभी र अन्य घरायसी उपकरण बनाउदै आएको थियो। यसका दुई कम्पनी एलजी इनोटेक र एलजी डिस्प्लेले भने क्यामरा मोडयूल र डिस्प्ले उत्पादन गरिरहेको छ।
कुनै समय एलजीका फोनले बजार उछ्छिनेको थियो। अहिलेपनि यसका मोबाइलको माग कम भएको होइन। एकाएक आफ्ना मोबाइलका उत्पादन नै बन्द गर्नुको पछाडी कम्पनीको अरु कारण छ।
द कोरिया हेराल्डका अनुसार एलजी इलेक्ट्रोनिक्स यस वर्षको दोस्रो त्रैमासिकमा ६ अरब अमेरिकी डलरभन्दा बढि बिक्रीको साथ घरायसी उपरकण उत्पादन गर्ने सबैभन्दा ठूलो निर्माता कम्पनी बनिरहेको छ।
यसै वर्षको पहिलो त्रैमासिकमा एलजीले घरायसी उपरकण बिक्रीमा आफ्ना प्रतिद्धन्द्धी कम्पनी व्हर्लपूललाई पनि पछाडी पारेको थियो। विश्लेषकहरुले एलजी यो वर्षभरी शीर्ष स्थानमा रहने आशा गरेका छन्।
यसरी कम्पनीले आफ्नो मोबाइल उत्पादन बन्द गरेर घरायसी इलेक्ट्रोनिक्सका साथै अन्य विद्युतीय सवारी, रोबोटिक्स जस्ता विकास श्रेत्रमा ध्यान केन्द्रित गर्न सक्नेछ।
यता कोरियास्थित एप्पल कम्पनीले भने एलजीलाई नयाँ आइफोन–१२ वा आइफोन–१२ मिनी उत्पादनको लागि काम गर्न प्रस्ताव गरिरहेको रिर्पोटको भनाइ छ। यसमा एलजीले भने कुनै चासो देखाएको आधिकारिक जानकारी आएको छैन।