निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न छुट दिने भनिएता पनि कार्यान्वयनमा आउन सकेको छैन।
आगामी आथिक वर्षको बजेट भाषणमा अर्थ मन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधिभर ती दुई कम्पनीबाट बिक्री हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने घोषण गरेका थिए।
उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो। बजेटमा उल्लेख गरिएको तीन दिन बितिसक्दा पनि उपभोक्ताले सो राहत पाउन सकेका छैनन्।
छुटका लागि सम्बन्धित मन्त्रालयबाट औपचारिक जानकारी नआएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जाानकारी दिइन्।
‘हामीले पनि बजेटमै सुनेको हो, तर त्यसको लागि मन्त्रालयबाट कुनै जानकारी आएको छैन,’ उनले भनिन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट औपचारिक जानकारी नआई छुट दिन नमिल्ने उनको भनाइ छ।
‘बजेट सुनेपछि ग्राहकले फोन गरिरहेका छन् तर मन्त्रालयले छुट देउ नभनीकन हामीले दिन मिल्दैन,’ उनले भनिन्।
उक्त राहत कार्यक्रम कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।
दुई सरकारी कम्पनीले चामल, नुन, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यास बिक्री वितरण गर्दै आएको छ।
अहिले निषेधाज्ञामा समेत यी दुई कम्पनीले होम डेलिभरीको सेवा दिँदै आएका छन्।