नेपाल एयरलाइन्सले आफ्नो चार्टर्ड उडानको भाडा घटाएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य घटाएपछि सरकारी स्वामित्वको एयरलाइन्सले भाडा घटाएको हो।
अहिले नियमित यात्रुबाहक उडान नभएकाले तत्काल चार्टर्ड भाडा घटाइएको र नियमित यात्रु उडान हुनेवित्तिकै यात्रु भाडा पनि सोहीअनुसार घट्ने एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार अहिले वाइडबडी जहाजको प्रतिघण्टा २ हजार ६० अमेरिकी डलरको भाडा घटेको छ। यसअघि १५ हजार ५२० डलर रहेको भाडा अहिले १३ हजार ४६० मा झारिएको छ। त्यस्तै न्यारोबडी जहाजका लागि प्रतिघण्टाको भाडा ७ हजार ७१० डलरबाट घटेर ६ हजार ५८० अमेरिकी डलरमा झरेको छ।