राष्ट्रिय ध्वजाबाह नेपाल एयरलाइन्सले डेरी उत्पादन सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट मात्र खरिद गर्ने भएको छ।
नेपाल एयरलाइन्सले आफूलाई चाहिने दुग्ध पदार्थबारे दुग्ध विकास संस्थानसँग छलफल अघि बढाएको छ।
एयरलाइन्सले उडानको क्रममा यात्रुलाई दिने डेरी उत्पादन वर्षेनी १५ करोडसम्मको खरिद गर्ने गरेको छ। चिज,बटर, दूध जस्ता पदार्थ एयरलाइन्सले खरिद गर्दै आएको छ।
देशकै किसानले उत्पादन गरेको दूधबाट बनेका पदार्थहरुले बजार नपाउने अर्कोतिर सरकारकी स्वामित्वकै एयरलाइन्सले वर्षमा करोडौंको दुग्ध पदार्थ विदेशमा बनेको प्रयोग गर्ने अवस्था अन्त्य गर्न आफूले यो प्रस्ताव अघि सारेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल बताउँछन्।
'हामी वर्षमै करिब १५ करोडको दूग्ध पदार्थ खरिद गर्ने रहेछौं। तर यो सबै विदेशी उत्पादन हुने रहेछन्। कम्तिमा हामीले सरकारी स्वामित्वकै संस्थाबाट खरिद गर्न सक्यौं भने नेपाली उत्पादनमात्र खपत हुन्छ भन्ने लाग्यो', पौडेलले भने 'यसका लागि तत्कालिन कृषिमन्त्री पद्मा अर्याल हुँदा छलफल अघि बढेको थियो।'
नेपाल एयरलाइन्सले दूग्ध पदार्थ डिडिसीबाट खरिद गर्ने भनेपनि ती सबै आवश्यक उत्पादन अहिले उत्पादनमा नभएको भए सरकारले मसिनरी खरिदमा सहयोग गर्ने र नेपाल एयरलाइन्सले सहुलियतमा ढुवानी गरिदिने कुरा भएको पौडेलले बताए।
नेपालमा दूग्ध पदार्थको उत्पादन बढ्दै गएपनि विदेशबाट हुने आयात रोकिएको छैन। दूधको आयात नभएपनि दुग्धजन्य अरु उत्पादनहरु वर्षमा करोडौंको आयात भइरहेको छ।