नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अगरियाले नेपाल एयरलाइन्सलाई बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले कुनै पनि अभाव हुन नदिने बताएका छन्।
मन्त्री नियुक्त भएपछि पहिलोपटक एयरलाइन्सको अनुमगनमा गएका मन्त्री अगरियाले नेपाल एयरलाइन्सको गुमेको बजार फिर्ता गराउनका लागि स्पष्ट कार्यदिशासहित अघि बढ्नुपर्ने बतएका छन्।
एयरलाइन्सको व्यवस्थापनलाई निर्देशन दिंदै उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए।
कोरोना महामारीमा आफ्नो जिम्मेवारी सक्षमता साथ पुरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजनासहित अघि बढन तत्कालै योजना बनाउन र गुमेको बजार पुन प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको उनको भनाइ थियो।
उक्त अवसरमा नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधिहरुबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे विस्तृत रुपमा अवगत गराएका थिए। एयरलाइन्सलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन लागिपरेको उनले जानकारी गराएका थिए।