नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपको प्राथमिकतामा राख्न सरकारसमक्ष माग गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्गलाई आज मन्त्रालयमा भेटी कोरोना विरुद्धको खोपका बारेमा ध्यानाकर्षण गराएका हुन्।
अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा महासंघले जोड दिएको छ।
जीर्ण भएको अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरा गर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाको जोड छ।
महासंघसंगको प्रतिनिधमण्डलसँगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन्।