होटल संघ (हान) ले होटलमा आबद्ध श्रमिकहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्ने उल्लेख गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलकुमार श्रीवास्तवलाई बुझाएको ज्ञापन पत्रमा संघले आगामी साउन एक गतेदेखि लागू हुनेगरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न नसक्ने उल्लेख गरेको छ।
होटलको वर्तमान अवस्था ज्यादै नाजुक रहेका कारण राजपत्रमा प्रकाशित श्रमिकहरुको नयाँ पारिश्रमिक लागू नगर्न उनीहरुले विज्ञप्तीमार्फत आग्रह गरेका हुन्।
कोभिड महामारीका कारण पुरानै तलब समेत भुक्तानी गर्न नसकिएको हानको भनाइ छ।
अघिल्लो लकडाउनको समयदेखि नै होटलले स्तरअनुसार श्रमिकहरुलाई निश्चित परीणाममा मात्रै पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरिसकेको छ।
सम्झौताअनुसार श्रमिकहरुले पाउने पारिश्रमिक न्यूनतम पारिश्रमिकभन्दा थोरै परीणाममा छ।
सामाजिक सुरक्षा कोषमा पनि सोही सम्झौतामा तोकिएको रकमको आधारमा योगदान रकम जम्मा गर्ने व्यवस्था मिलाउन हानले उल्लेख गरेको छ।
कोषमा योगदान रकम जम्मा गर्ने सम्बन्धमा थप सुविधा उपलब्ध गराउन समेत हानले सरकारलाई आग्रह गरेको छ।