प्रयोगात्मक र व्यावहारिक सिकाइ अनुभव निर्माणका लागि काम गरिरहेको संस्था 'कारखाना' ले हालै नेपालमै निर्मित 'साइन्स किट' सार्वजनिक गरेको छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थी लक्षित यो किटमा विज्ञान विषयमा हुने सम्पूर्ण अध्यायलाई चाहिने प्रयोगात्मक सिकाइका सामग्री समावेश छन्।
यो किटको मद्दतबाट विद्यार्थीले घरबाटै प्रयोगात्मक र व्यावहारिक सिकाइ अनुभव पाउन सक्ने कारखानाका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवित्र बहादुर गौतम बताउँछन्।
'अहिले विद्यार्थीले स्कुलमा गर्न पाउने प्रयोगात्मक सिकाइको अवसर गुमाइरहेका छन्,' पवित्रले भने, 'विद्यार्थीले पाउनुपर्ने व्यावहारिक शिक्षा रोकिनु हुँदैन। यसले उनीहरूको सिकाइ क्षमतामा असर पार्छ। त्यसैले हामीले साइन्स किट सार्वजनिक गरेका हौं।'
सामाजिक उद्यम संस्था कारखानाले सन् २०१२ देखि व्यावहारिक सिकाइका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
यसअघि संस्थाले शिक्षकका लागि साइन्स किट सार्वजनिक गरेको थियो। ती किट विभिन्न स्कुलमा प्रयोग भइरहेका छन्। कोभिडका कारण स्कुल बन्द भएपछि विद्यार्थीका लागि पनि किट तयार गरिएको पवित्रले बताए।
कारखानाले गत वर्ष असारदेखि विद्यार्थीका लागि किट बनाउने काम सुरू गरेको हो। यसका लागि टोलीले विभिन्न अध्ययन र परीक्षण गरे। किटसँगै 'वर्क बुक' र 'गाइड बुक' पनि उपलब्ध छ। यसले किट प्रयोग क्रममा हुन सक्ने अन्योल हटाउन मद्दत पुर्याउने कारखानाका अर्का सह-संस्थापक सुनोज दास श्रेष्ठ बताउँछन्।
'गाइड बुकले विद्यार्थीलाई सामग्री चलाउने विधि सिकाउँछ। वर्क बुकले अध्यायअनुसार अभ्यास गर्न प्रेरित गर्छ। यसरी विद्यार्थीले घरमै बसेर स्वःअध्ययन र परीक्षण गर्न सक्छन्,' कारखानामा शैक्षिक विभाग प्रमुख समेत रहेका सुनोजले भने, 'त्यस्तै कुनै समस्या परे हामीसँग गुगल मिटमार्फत जोडिन सकिन्छ। गुगल मिटमा सबै अभ्यासको भिडिओ तयार पारेका राखेका छौं।'
अहिलेसम्म प्रत्येक कक्षाका लागि तीन-तीन हजार थान साइन्स किट तयार पारिएको छ। हालसम्म झन्डै २ सय ५० वटा किटको माग आइसकेको उनले बताए। यो किटको मूल्य पाँच हजारदेखि पाँच हजार पाँच सय रूपैयाँसम्म पर्छ।
पवित्र र सुनोजसँगै साकार पुडासैनी, सचेत मानन्धर, सुरेश घिमिरे र दिपेश्वर मान श्रेष्ठ कारखानाका सह-संस्थापक हुन्। साकार अन्तर्राष्ट्रिय सम्बन्धी कार्य विभाग प्रमुख हुन्। सचेत फाइनान्स एवम् अपरेसन विभाग सम्हाल्छन् भने दिपेश्वर अनुसन्धानको नेतृत्व भार सम्हाल्दैछन्।
यी पाँच सह-संस्थापक इञ्जिनियरिङ (इलेक्ट्रिक एन्ड कम्युनिकेसन इन्जिनियरिङ) पृष्ठभूमिका हुन्। उनीहरूले सन् २०११ देखि रोबोटिक एसोसिएसन अफ नेपाल (आरएएन) नामक संस्था पनि सञ्चालन गरिरहेका छन्। सुनोज यसका संस्थापक अध्यक्ष र पवित्र संस्थापक सचिव हुन्।
सन् २०१० मा इलेक्ट्रिक एन्ड कम्युनिकेसनमा इञ्जिनियरिङ सकेर पवित्र विदेसिने सोचमा थिए। पढाइ सकेलगत्तै आरएएमा लागेका हुन्। उनी नेपालमा बसेर केही गर्न सकिन्छ कि सकिन्न भन्ने अन्यौलमा थिए।
एकदिन आरएएनको एउटा कार्यक्रममा उनको भेट साकारसँग भयो। साकार अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयबाट पढाइ सकेर नेपाल फर्केका थिए। उनको कुरा सुनेपछि पवित्रलाई लाग्यो, 'विदेसिएका मान्छे त नेपालै फर्किन्छन् भने गएर पनि के नै हुँदो हो?'
त्यसपछि उनले नेपालै बस्ने निधो गरे। आरएएनमा समय दिन थाले। विस्तारै अन्य साथीहरूसँग सहकार्यमा छुट्टै सामाजिक उद्यम सुरू गर्ने योजना बनाए। सोही योजना अनुसार सन् २०१२ मा कारखाना स्थापना भएको हो। समस्या समाधान गर्न आवश्यक सामग्री विकास गरिने डिजाइन कम्पनीका रूपमा संस्था स्थापना गरेकाले नाम 'कारखाना' राखिएको उनीहरू बताउँछन्।
पवित्रका अनुसार उनीहरूको पहिलो काम इ-सेवासँग थियो। यसअन्तर्गत टोलीले भेन्डिङ मेसिनबारे अध्ययन गरेका थिए। अध्ययन सफल भयो तर योजना कार्यान्वयन गर्ने विषयमा दक्षता र आर्थिक अभाव भयो।
'अध्ययन रिपोर्ट तयार पार्यौं तर कार्यान्वयन गर्न मुश्किल थियो। सीप, दक्षता र आर्थिक विषयमा विभिन्न प्रश्न उब्जिन थाले,' पवित्रले भने, 'त्यसपछि हामीले आफ्नो काम आधारभूत स्तरबाट गर्नुपर्छ भन्ने बुझ्यौं।'
अनि कारखानाले सन् २०१३ को जुनदेखि इञ्जिनियरिङ सकेका विद्यार्थीलाई कार्यशाला दिन सुरू गर्यो। तर त्यसमा पनि समस्या भयो। इञ्जिनियरिङ सक्दासम्म विद्यार्थीको मानसिकता किताबी ज्ञानमा बढी जोड दिने र उनीहरू प्रयोगात्मक सिकाइ जस्ता कुरामा ध्यान नदिने पाइएको पवित्रले बताए।
त्यसपछि टोलीले प्लस-टु र कक्षा ९-१० का विद्यार्थीलक्षित कार्यक्रम गर्ने सोचे। यी कक्षामा बढी परीक्षा केन्द्रित पढाइ हुने भएकाले यो योजना पनि सफल भएन।
अन्ततः केही समयको अध्ययन र धैर्यपछि उनीहरूले निम्न माध्यमिक तहका विद्यार्थी लक्षित कार्यशाला र कार्यक्रम बनाउने निष्कर्ष निकाले। 'यी तहका विद्यार्थीलाई परीक्षाका लागि बढी तनाव दिइँदैन। प्रयोगात्मक सिकाइलाई पनि प्राथमिकता दिइन्छ,' पवित्रले भने।
संस्थाको टोलीलाई सन् २०१४ को मध्यदेखि बल्ल सही मार्ग हिँड्यौं भन्ने भयो। उनीहरूले विभिन्न स्कुलका विद्यार्थीले सैद्धान्तिक रूपमा जानेका कुरालाई व्यावहारिक रूपमा सिकाउन थाले। यो सिकाइ सिर्जनशीलता, सञ्चार, सहकार्य र समालोचनात्मक धारणामा आधारित हुन्छ।
ठ्याक्कै भन्नुपर्दा उनीहरू 'स्टिम (एसटिइएएम) एजुकेसन' मा विश्वास राख्छन्। अर्थात् कुनै पनि सिकाइ विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितसँग जोडिएर हुनुपर्छ।
'प्राविधिक विषयलाई जीवनशैलीसँग जोडेर लिनुपर्छ। र, जीवनशैली चालीस मिनेटमा एउटा कोठामा बसेर पढेर मिल्ने अनुभव होइन। यसका लागि प्रयोगात्मक सिकाइ चाहिन्छ। त्यसैले हामी स्टिम एजुकेसनमा विश्वास राख्छौं,' पवित्र बताउँछन्।
सिकाइ र बुझाइ क्रम चलिरहँदा २०७२ को भुइँचालोले कारखानाका कार्यशालाहरू रोकिए। त्यसपछि टोली वैकल्पिक सिकाइका माध्यमबारे अध्ययन गर्न थाल्यो। हरेक कार्यशाला कार्यान्वयन गर्नुअघि होस् या कुनै नयाँ कार्यक्रम सुरू गर्नुअघि, उनीहरू अध्ययनमा धेरै समय दिन्छन्।
साइन्स किट तयार पार्न पनि निकै समय अध्ययन गरेको पवित्र बताउँछन्। यसबारे विचार भुइँचालोपछि नै आएको हो। झन्डै चार वर्ष अध्ययन र परीक्षणपछि किट तयार भएको उनले बताए।
कारखानाको कार्यालय र काम गर्ने ठाउँ ज्ञानेश्वरमा छ। सुरूमा सानो कोठाबाट सुरू भएको कारखाना अहिले एउटा सिंगो घरमा फैलिएको छ। कोरोना महामारीअघि यहाँ ६० भन्दा बढी कर्मचारी आवद्ध थिए। अहिले भने ३५ जनाले कारखाना सम्हाल्दै छन्।
कारखाना आफ्नो पाठ्यक्रम र कार्यशाला लिएर देशभरका विभिन्न स्कुल पुगिसक्यो। यसले अन्य संस्थासँग मिलेर सन् २०१८ देखि सातै प्रदेशमा 'भविष्य स्टिम च्यालेन्ज' पनि गर्दैछ। यसमा विद्यार्थीहरू आ-आफ्नो आइडिया लिएर कार्यक्रममा सहभागी हुन्छन् र त्यहीँ बसेर आफ्नो नवीनतामा काम गर्छन्।
'परम्परागत शैलीका शैक्षिक मेला र प्रतियोगिताभन्दा भविष्य स्टिम भिन्न छ। यसमा हामी विद्यार्थीलाई आफ्नो नवीनता प्रस्तुत गर्न चाहिने कच्चा सामग्री ल्याउन भन्छौं। त्यसबाट आफूले जानेको कुरा बनाउन भन्छौं,' पवित्रले भने।
अहिलेसम्म उनीहरूले तीनपटक राष्ट्रिय रूपमा यो कार्यक्रम गरिसके। उनीहरूले विभिन्न प्रायोजकको सहकार्यमा बेलाबखत नयाँ-नयाँ आइडियामा कार्यशाला सञ्चालन गरिरहेका हुन्छन्। सन् २०१८ मा प्रविधि क्षेत्रमा लेख्ने पत्रकारका निम्ति पनि कार्यशाला गरिएको थियो।
उनीहरूको केन्द्रित विषय भने पाठ्यक्रमको आधारमा विद्यार्थीलाई प्रयोगात्मक एवम् व्यावहारिक शिक्षा दिलाउनु नै हो। पवित्र भन्छन्, 'कुनै पनि प्राविधिक विषयलाई चाखलाग्दो तरिकाले पढाए विद्यार्थीले ध्यान दिन्छन् र बुझ्छन्। उनीहरूले आधारभूत कुरा सिकेपछि नै थप जानकारीमा चासो राख्छन्।'
हामीकहाँ अझै पनि परम्परागत शैलीको पढाइलाई प्राथमिकता दिइन्छ। यसले गर्दा पाठ्यक्रम विकास र कार्यशाला सञ्चालन समय मिलाउन कारखाना टोलीलाई चुनौतीपूर्ण छ। तर विस्तारै विद्यालय प्रशासन र अभिभावकहरूमा चेतना आएको महशुस उनीहरूले गरेका छन्।
कारखानाले अहिले विज्ञानसँगै कम्प्युटिङ क्षेत्रमा पनि चासो बढाइरहेको जानकारी पवित्रले दिए।
'थुप्रै चुनौतीका बावजुद हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। नेपालमा स्टिम एजुकेसन प्रणाली र शिक्षामा प्रयोगात्मक एवम् व्यावहारिक सिकाइ तरिका भित्र्याउने हो भने हामी अग्रणी जनशक्ति विकास गर्न सक्छौं,' पवित्रले आशावादी हुँदै भने।
(कारखानाको वेबसाइट र सम्पर्कका लागि यहाँ क्लिक गर्नुहोस्।)