संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेपछि वायुसेवा कम्पनीहरु असन्तुष्ट बनेका छन्। मन्त्रिपरिषदले निर्णय गरेको १० दिनपछिमात्र उडान खुलाउने निर्णय गर्नु मन्त्रालयको नियत सही नभएको उनीहरुको आरोप लगाएका छन्।
मन्त्रालयको सात गते उडान खोल्ने निर्णय भएपछि १० पछि धकेल्नुमा कुनै तर्क तथा कारण नदिएको खाली प्रशासनिक निर्णयमात्र गरेको भन्दै उनीहरुले विरोध जनाएका छन्।
मन्त्रिपरिषदले उडान ५० प्रतिशत उडान खोल्ने निर्णय गरेपछि उडानको मिति तोक्ने अधिकार मन्त्रालयलाई दियो भन्दैमा १० दिन पछि धकेल्दा कुनै पनि कारण नदिनु स्वेच्छाचारी प्रवृत्ति भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेत बताउछन्।
'के कारणले गर्दा १० पछि उडान खोल्ने निर्णय भयो? यसमा केही पनि कारण दिइएको छैन। कि १० दिनपछि भ्याक्सिनेशन हुने हो ? कि शून्य संक्रमण हुने हो? मेरो प्रश्न छ सचिवज्यू लाई'वस्नेतले सेतोपाटीसँग भने।
कोरोना संक्रमणको प्रवृत्ति पछिल्लो समय स्वभाविक रुपमा घट्दै गएको र अस्पताल जानैपर्ने जटिल विरामीको संख्या पनि उत्तिकै घटेको तथ्यांक आएको सन्दर्भमा मन्त्रिपरिषदले बजार तथा पसल,यातायात खोल्ने निर्णय गर्नु राम्रो निर्णय भएपनि पर्यटन मन्त्रालयले हचुवाको भरमा १० दिन पछि धकेलेको उनको आरोप छ।
मन्त्रिपरिषदको निर्णयपछि पर्यटन सचिव यादवप्रसाद कोइरालाले १० दिन पछि उडान गर्ने निर्णय गरेका हुन्। उनले यस्तो निर्णय गर्नुअघि आइतबारबाट उडान खोल्ने लगभग तयारी भएको थियो। उक्त निर्णय लिने बैठकमा सचिव कोइरालाले स्वास्थ्य मन्त्रालयसँग पनि समुन्वय गर्नुपर्ने र उडान हुने अरु गन्तव्यमा संक्रमणको अवस्था हेरेर विश्लेषण गर्न समय चाहिने भएकाले १७ गतेदेखि उडान खोल्नु उपयुक्त हुने धारणा राखेका थिए।
दोस्रो लहरमा अत्याधिक प्रभावित देशहरुमा पनि आन्तरिक उडान बन्द नभएपनि नेपालमा बन्द गरिएको र खोल्ने निर्णय गरिसक्दा पनि मन्त्रालयले झन पर धकेल्नु भनेको कर्मचारीतन्त्रको सर्वोच्चता लाद्न खोजेको वस्नेतको आरोप छ।
'यस्तो बेला जनप्रतिनिधि पनि छैनन् मन्त्रालयमा। भएको भए हामी प्रश्न गर्थ्यौ। तर सचिव ज्यूले यस्तो निर्णय गरिदिनुभयो। तर उहाँलाई मेरो प्रश्न छ यो निर्णयबाट फाइदा कसलाई हुन्छ? के कारणले भोलि नखोल्ने के कारणले १७ गते खोल्ने?'उनले भने।
गत वर्षको लकडउानपछि खुलेको उडानका बेला जारी गरिएका मापदण्ड अहिले पनि तयार छन्। अहिले खुल्ने उडानमा पनि त्यही स्वास्थ्य मापदण्ड उडानमा लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। उडानका लागि अन्य तयारीको आवश्यकता खासै नभएको वस्नेतको भनाइ छ।
मन्त्रिपरिषदको निर्णयपछि १ हप्ताको समय राखेरमात्र उडान खोल्न निर्देशन मन्त्रिपरिषदको कार्याबाट आएकाले सोहीअनुसार निर्णय गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका थिए।
संक्रमणको जोखिमका हिसाबले सबैभन्दा सुरक्षित मानिने हवाइ उडान बन्द गरेर सरकारले जनातालाई दुख दिने काम गरेको व्यवसायीहरुको आरोप छ। लगभग बसकै भाडामा जहाजमा यात्रा गर्ने अवसर पछिल्लो समय यात्रुले पाएपनि दोब्बर भाडामा थानकोटसम्म बस चलिरहेको नदेख्ने सरकारले जहाजको उडानलाई झन पर धकेलेर दुख दिएको उनीहरुको आरोप छ।
उडान संख्याको क्याप तोकेर पनि सरकारले गतल गरेको वस्नेतको आरोप छ।
यसै पनि उडान खोल्नेवित्तिकै यात्रुको संख्या न्यून हुँदा थोरै उडान हुने र यात्रुको संख्या बढ्दै जाँदा उडान बढ्दै जाने भएकाले सरकारले संख्या तोकेरै निर्णय गर्दा यात्रुले दुख पाउने र सरकारले व्यवसायीलाई दुख दिन खोजेको उनको भनाइ छ।
'सरकारले तोकेको संख्याको उडानमा यात्रु भरिन थालेपछि केहीदिन भाडा बढ्नसक्छ। त्यसरी भाडा बढेपछि फेरि व्यवसायीले उडान बढाउनका लागि मन्त्रालयमा जानुपर्यो। के यो यात्रुलाई दुख दिने र व्यवसायीलाई आफूकहाँ बोलाउने चाकडी खोजेको हो सचिवज्यूले?' उनले भने।
सरकारले अन्तर्राष्ट्रिय उडानमा पनि प्रति गन्तव्य हप्तामा चार उडानसम्म अनुमति दिने निर्णय गरेको छ। यसरी खोलिएको उडानमा यात्रुको संख्या धेरै हुँदा गन्तव्यमा भाडा महंगिएको छ। भारतको नयाँ दिल्लीमा हप्तामा २ उडानमात्र हुँदा १० हजारमै पाइने टिकट ३० हजार माथिसम्म पुगेको छ। एयरलाइन्सहरुले उडान संख्या बढाउन नभए भाडा अझै महंगिने चेतावनी दिंदै आएका छन्।
एकातिर थोरै उडान अर्कोटिर खुला बजार प्रणालीबाट टिकट नपाउने भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीलाई महंगो भाडाको मार पर्ने देखिएको छ।
पर्यटन सचिवले आफूलाई जनप्रतिनिधभन्दा पनि माथि राखेर व्यवसायीलाई दैनिक आएर चाकडी गरुन् भन्ने नियतबाट पछिल्लो निर्णय लिएको अर्का वायुसेवा सञ्चालकको भनाइ छ। अन्तर्राष्ट्रिय उडानमा पनि सिन्डिकेट खडा गरेर नेपालीलाई नै महंगो भाडाको मार खेप्नु बाहेक केही पनि फाइदा नभएको उनको भनाइ छ।
'मुखै खोलेर भन्न त झन् गाह्रो छ। यसै पनि केके बहानामा दु:ख दिन्छन्। बोलिसक्नु पनि छैन। तर सचिवले यस्तो निर्णय गर्नुको पछाडी किन सजिलै व्यापार व्यसाय गर्न दिने भन्ने मनसाय देखियो। तर उहाँको यो निर्णयबाट सिमित व्यवसायीले फाइदा लिएका छन्। तर यात्रुले महंगो टिकट किनुपरेको छ। लकडाउनमै पनि चार्टर्ड उडानबाट संक्रमण नहुने नियमितबाट पनि संक्रमण हुने सरकारी तर्कले कतिले दु:ख पाए होलान्?' उनले भने।