घरभित्र थुनेर मात्र समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले सरकारले तत्काल अधिकांस नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा “कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव“ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी दर्जनौं व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनाले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन्।
कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नभएको बताए।
‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामीकहाँ कहिले हो टुंगो छैन,’ चौधरीले भने ।
विभिन्न ठाऊमा पत्र पठाएर सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको चौधरीले बताए । 'बजेटसमेत छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ’ चौधरीले भने ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याउन नसक्ने हो र यस्तो अवस्था लम्बिंदै जाने हो भने मुलुकको अर्थतन्त्रमा अझै खरब हुने बताए।
कोभिड १९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ती व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए । ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुदैन,’ गोल्छाले भने ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकै बीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकाल्नु गलत भएको बताए । ‘कोभिड १९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पनासमेत गर्न सक्दैन’, मल्लले भने । सकारले पहिले भ्याक्सिन दिएर मात्रे अन्य कुरा तर्फ लाग्न मल्लले आग्रह गरेका छन् ।
बैंकमा तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । मंसिर देखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्षदेखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ ले नेपालको अर्थतन्त्रलाई धरासायी बनाएको बताए । नेपाललले खोप लगाउन नसक्ने अवस्थामा अझै एकवर्ष समस्या आउने देखिएको उनको भनाइ छ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाऊ नभएको बताउँदै यो सरकारको वहिर्गमनै पहिलो शर्त भएको बताए । व्यवसायीले उठाएका माग पुरा गराउन सरकारलाई दवाव दिने महतले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले कांग्रेसले व्यवसायीका समस्या बुझ्न तथा समाधानका उपायाका बारेमा जानकारी लिएर सरकारलाई दबाब दिने बताए।