नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी एक महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका प्रकाशन गरेको छ। प्राधिकरणको सूचनाअनुसार आउने महिना हप्तामा बीस अन्तर्राष्ट्रिय उडान हुने छन्।
नेपाल सरकारको निर्णयअनुसार नै उडान तालिका प्रकाशन गरेको प्राधिकरणले प्रत्येक गन्तव्यमा हप्तामा चारसम्म उडान स्वीकृत गरेको छ।
उडान हुने प्रत्येक गन्तव्यमा नेपाली एयरलाइन्स र सम्बन्धित देशको एउटा एयरलाइन्सलाई उडानका लागि प्राधिकरणले स्वीकृत गरेको छ।
चार्टर्ड उडानबाट यात्रुलाई भाडा धेरै महँगो भएको र त्यसबाट कामका लागि विदेश जाने तथा स्वदेश फर्किने नेपालीलाई मार परेको भन्दै सरकारले उडान संख्या केही बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।
तर चार्टर्ड जत्तिकै भाडा नियमित उडानमा पनि पर्ने भएपछि विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु मारमा परेका छन्।
एयरलाइन्स कम्पनी र केही सिमित ट्राभल व्यवसायीको मिलेमतोमा यात्रुलाई मारमा पार्ने काम भइरहेको भन्दै नेपाल ट्राभल एजेन्ट तथा एजेन्सी एसोसिएसनले यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेको छ।
'चार्टर्डबाट जसरी सिमित व्यवसायी पोस्ने तथा यात्रुलाई मारमा पार्ने काम भइरहेको थियो पछिल्लो समयको नियमित उडानबाट पनि त्यही भइरहेको पाइयो। त्यसैले हामीले उडान खोलेर फ्रिक्वेन्सी बढाउन माग गरेका छौं,' एसोसिएसनका अध्यक्ष अच्युत गुरागाईंले भने।
एक ट्राभल व्यवसायीकाअनुसार नियमित उडान खोलिएका गन्तव्यमा पनि भाडा आकासिएको छ। २२ हजारसम्म टिकट पाइने कतारको दोहामा अहिले ५० हजारसम्म भाडा पुगेको छ। साउदी अरब जानेका लागि एक लाखभन्दा बढी भाडा पुगेको छ। त्यस्तै भारतको नयाँ दिल्ली, युएई लगायतका सबै गन्तव्यमा सामान्य अवस्थाको तुलनामा भाडा तेब्बरसम्म बढेको छ।
भाडा बढ्नुका दुई कारण छन्। पहिलो, सीमित उडान खोलिएका छन्। सीमित उडान तर यात्रुको संख्या धेरै हुँदा स्वभाविक भाडा बढेको छ। सरकारले सीमित उडान खोलेका कारण भाडा आकासिएको एयरलाइन्सहरूले स्पष्टीकरण दिँदै आएका छन्।
दोस्रो कारण, यसमा मिलेमतो रहेको कतिपयको आरोप छ।
एक ट्राभल एजेन्सीका अधिकारीका अनुसार अहिले कुनै पनि एयरलाइन्सले २० प्रतिशतमात्र टिकट सिस्टममा हाल्छन्। जुन सबै एजेन्सीको पहुँचमा हुन्छ। बाँकी ७० प्रतिशतसम्म टिकट उनीहरुले नियन्त्रित च्यानलबाट बिक्री गर्छन्।
'यस्तो गर्दा उनीहरू आफैंले तोकेको भाडा लिन्छन्। यसमा सस्तो त हुने कुरै भएन। लगभग चार्टर्ड बराबरकै भाडा हुन्छ। बजारमा छोडेका सिट देखाउन मात्र हुन्। यसमा सामान्य यात्रुको व्यक्तिगत पहुँच पुग्न गाह्रो छ,' ती एजेन्सी सञ्चालकले भने, 'सामान्य यात्रुले पहिले जसरी एजेन्सीबाट टिकट पाउनै गाह्रो छ। यसो हुँदा उनीहरू निश्चित एजेन्सीमा पुग्छन् र झन् महँगोमा पर्छन्।'
पछिल्लो समय नियमित उडान खोल्दा पनि यात्रुलाई राहत नमिलेको तथा व्यवसायमा पनि सबैको पहुँच निश्चित नभएकाले आफूहरूले सरकारसँग जोडदार माग गरेको गुरागाईंले बताए।
भाडा नघटेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले पछिल्लो समय छानविन समिति बनाएको छ। समितिले अहिले गुनासो संकलन गरिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
'पछिल्लो समय व्यापक गुनासो आएपछि हामीले उडान संख्या पनि बढाएका छौं। सँगै भाडा बढेको तथा यात्रुका गुनासा सम्बोधन गर्नका लागि समिति पनि बनाएका छौं। अहिले त्यो समितिले काम गरिरहेको छ' अधिकारीले भने।
समितिको प्रतिवेदनपछि मन्त्रालयले थप कदम चाल्नुपर्ने आवश्यकता आएमा सोहीअनुसार अघि बढ्ने अधिकारीको भनाइ छ।