सरकारको पूर्ण स्वामित्व रहेको वायुसेवा निगमलाई कम्पनी संरचनामा लिएर सञ्चालन गर्ने तयारीमै कर्मचारी युनियनहरुको अवरोध गरेका छन्।
आगामी वर्षको बजेटमा घोषणा भएअनुसार कम्पनी संरचनामा लिएर सञ्चालन गर्नका लागि नेपाल वायुसेवा निगमले उपसमिति बनाएर प्रबन्धपत्र सरकारलाई बुझाएपछि कर्मचारी युनियनहरुले कार्यालय सञ्चालनमै अवरोध गरेका छन्।
युनियनहरुले नेपाल एयरलाइन्सलाई कम्पनी संरचनामा चलाउने कुराको विरोध गर्दै महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी जस्ता कार्यक्रम गरिरहेका छन्।
युनियनहरुले नेपाल एयरलाइन्स बिक्री गर्न खोजेको लगायतका आरोप लगाएका छन्।
गत वर्ष पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वमा गठित कार्यदलले पनि नेपाल एयरलाइन्सलाई कम्पनी संरचनामा लिएर विदेशी साझेदार ल्याउनुपर्ने सुझाव दिएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय आफैले अहिलेको संरचनामा निगमले ठूला जहाज ल्याएर विदेशी तथा निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै आएको छ। नेपाल एयरलाइन्सले थप पुँजी माग्दा अर्थमन्त्रालयले सँधै संस्थागत पुर्नसंरचनाको कुरा उठाउँदै आएको छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले भने आफूले निजीकरण वा कम्पनी संरचनामा लिने निर्णय गर्ने कुरै नभएको बताउछन्। सरकारको निर्णय र निर्देशनअनुसार आफूहरुले प्रबन्धपत्र तथा आवश्यक कामका बारेमा सुझाव दिएको उनले बताए।
'सरकारले बजेटमा घोषणा गरेअनुसार कार्यान्वयन गर्नका लागि हामीलाई प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा बनाउन भनिएको थियो। सोहीअनुसार हामीले बनाएर मन्त्रालयमा पठाएका छौं' उनले भने।
सरकारले निगमलाई कम्पनी संरचनामा लिएर रणनीतिक विदेशी साझेदार ल्याउने योजना बनाएको छ। वाइडबडी जहाज ल्याउनु पहिले नै सरकारले यही घोषणा गरेको थियो। तर निगममा कार्यरत कर्मचारीहरुको र सार्वजनिक विरोधको डरले सरकार घोषणा गर्दै पछि हट्दै गरेको छ।