नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने एयरलाइन्सहरुलाई मागअनुसारको उडान अनुमति दिने भएको छ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यसअघि पचास प्रतिशतमात्र उडान अनुमति दिएको प्राधिकरणले अब भने मागका आधारमा अनुमति दिने बताएको छ।
सरकारले स्वास्थ्य र पर्यटनमन्त्रालयको समुन्वयमा जोखिमको अवस्था हेरि उडान अनुमति अधिकतमसम्म दिनसक्ने निर्णय गरिदिएपछि प्राधिकरणले यस्तो निर्णय लिएको हो।
सरकारले गरेको पछिल्लो निर्ण अहिलेसम्म नआएपनि मागका आधारमा अब अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
पछिल्लो समय बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि केही गन्तव्यमा उडानको संख्य थप गरिएको उनको भनाइ छ।
'अब हामी विमानस्थलको क्षमता हेरेर,भिडभाड नहुनेगरी उडान संख्या बढाउँदै जान्छौं। अब हामीले उडान संख्या तोक्नेभन्दा पनि एयरलाइन्सहरुको मागअनुसार दिइन्छ' उनले भने।
यात्रुको चाप बढेका क्षेत्रमा एयरलाइन्सहरुले थप उडानको अनुमति माग गर्न आएमा प्राधिकरणले अनुमति दिने उनको भनाइ छ।
तर तत्काल पूर्ण क्षमतामा उडान खोल्ने काम भने नहुने उनले बताए। क्रमिक रुपमा उडान संख्य बढाउँदै जाने प्राधिकरणको तयारी छ।
यसअघि प्राधिकरणले दैनिक ६७ उडान तालिका बनाएको थियो। तर उडान खोल्नेवित्तिकै सरकारले तोकेको कोटामा यात्रु भरिएको भन्दै एयरलाइन्सहरुले उडान संख्या बढाउन माग गरेका थिए।
उडान संख्याको तुलनामा यात्रु धेरै भएपछि भाडा महंगो हुने भएकाले पनि उडान संख्या बढाउनुपर्ने उनीहरुको माग थियो।