कोरोना महामारीका बीचमा पनि लुम्बिनी प्रदेशमा उद्योग व्यवसायतर्फ युवाहरूको आकर्षण बढेको छ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका कतिपय युवाहरू स्वदेशमै स्वरोजगार बन्न थालेका हुन्।
लुम्बिनी प्रदेशमा मात्रै आर्थिक वर्ष २०७७/७८ मा सानाठूला गरी २६ हजार बढी उद्योग थपिएका छन्।
लुम्बिनी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीले साना उद्योगहरूमा युवाहरूको आकर्षण बढ्दै गएको बताए।
ज्ञवालीका अनुसार एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा थपिएका २६ हजार ३२९ वटा उद्योगमध्ये ५० प्रतिशत साना उद्योग छन्।
ज्ञवालीका अनुसार एक वर्षको अवधिमा प्रदेशका १२ जिल्लामा १३ हजार १ सय ६५ वटा साना उद्योग दर्ता भएका छन् भने झण्डै त्यतिकै संख्यामा १३ हजार १ सय ५३ वटा घरेलु उद्योग दर्ता भएका छन्।
यस्तै, एक वर्षमा ११ वटा लघु उद्योग दर्ता भएका छन्।
यसरी दर्ता गरिएका विभिन्न आठ प्रकारका उद्योगमध्ये सबैभन्दा बढी १६ हजार ७ सय ६२ वटा कृषि तथा वनजन्य उद्योगहरू थपिएका छन्।
त्यसैगरी ४ हजार ८१ वटा सेवामूलक, २ हजार ८ सय ६ वटा उत्पादनमूलक, १ हजार ८ सय ५४ वटा पर्यटन उद्योग, ५ सय ५२ ऊर्जामूलक उद्योग, १ सय ७४ वटा सञ्चार तथा सूचना प्रविधिसम्बन्धी उद्योग र एक सय वटा निर्माणसम्बन्धी उद्योग थपिएको ज्ञवालीले बताए।
आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका उद्योगहरूको संख्या अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा दर्ता भएका भन्दा ६ गुणाले बढी हो।
प्रवक्ता ज्ञवालीका अनुसार २०७६/७७ मा ४ हजार ५ सय ७८ वटा लघु, घरेलु तथा साना उद्योग थपिएका थिए।
‘कोरोना महामारीकै बीचमा भए पनि गत वर्षभन्दा यस वर्ष ६ गुणा बढी उद्योग दर्ता भएका छन्, यसले युवाहरू स्वदेशमै लगानीका लागि आकर्षित छन् भन्ने देखाएको छ,’ ज्ञवालीले भने।
उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लुम्बिनी प्रदेश सरकारले रोजगार सिर्जना, उद्यम विकास तथा आर्थिक समृद्धिका लागि लघु, घरेलु तथा साना उद्योगहरूलाई प्राथमिकतामा राखेकोले युवाहरू उद्योग व्यवसायतर्फ आकर्षित भएको दाबी गरिन्।
उनले प्रदेश सरकारले उद्योगको विकाससँगै वन तथा वातावरण संरक्षणका लागि आवश्यक सुधारसहितका कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
अहिले थपिएका उद्योगसँगै लुम्बिनी प्रदेशमा दर्ता भएर सञ्चालन हुने उद्योगको संख्या ९७ हजार ७५ पुगेको छ।
मन्त्री पाण्डेले प्रदेश सरकारले औद्योगिक ग्राम निर्माण तथा कागज उद्योग स्थापनाको पहल थालनी गरेकोले यसका लागि सबैको सहयोगको खाँचो रहेको बताइन्।
यस्तै कोरोना महामारीका बीचमा मन्त्रालयले गर्नुपर्ने बजेट कार्यान्वयनको अवस्था पनि सन्तोषजनक रहेको मन्त्रालयका सचिव डा. राजन केसीले बताए।
केसीका अनुसार मन्त्रालयले उद्योग वन तथा वातावरणको लागि विनियोजन गरेको बजेटमध्ये ९० दशमलव १० प्रतिशत बजेट कार्यान्वयन गरेको बताए।