नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्राइभेट कम्पनीले यो औषधि उत्पादन सुरु गरेको हो।
आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो उत्पादन ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरु सार्वजनिक गरेको छ। सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने यो कम्पनी नेपालकै पहिलो भएको बताए।
उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन थालिएको बताउँदै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए।
शत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री बितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी अघि बढेको हो।
टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भइसकेको छ भने यसको काभ्रेको बनेपा १ नालामा कुल १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग संचालनमा छ। त्यसमध्ये अहिले २० हजार स्क्वायर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए।
अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग डव्लुएचओको जिएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको उनले बताए। ‘हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले भने। टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ। त्यसमध्ये पाँचवटा 'फर्माकोपेल', अरु 'नन् फर्माकोपेल' छन्। यीमध्ये केही औषधि निर्यातका लागि उत्पादन हुने कार्यकारी निर्देशक बैद्यले बताए।
एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए।
‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन्। जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपालीलाई सुलभ मूल्यमा उत्पादन गराउने छौं’ कार्यकारी निर्देशक बैद्यले भने।