अचेल हरेक साना-ठूला सहरका स्थानीय एफएममा बेलाबेला बजिरहेकै हुन्छ। त्यहाँको कुनै न कुनै टेलरिङ सेन्टरको विज्ञापन।
दाङको तुलसीपुरमा बज्ने रेडियोमा भने उनको पसलको विज्ञापन सुनिँदैन। तर पनि यो पसल तुलसीपुरमा हिट छ। यो राजु केसीको टेलर हो। नौ वर्षदेखि धेरै दंगाली राजुले सिलाएका सर्ट, पाइन्ट र कोट लगाएर चट्ट परेर हिँड्छन्।
३९ वर्षीय राजु अहिले आफ्नै मेहनतले कमाएको सफलतामा मख्ख छन्। यहाँ आइपुग्न भने उनलाई २४ वर्ष मेहनत गर्नुपर्यो। उनी सल्यानको मलिवाङ गाउँ छोडेर हिँडेका थिए। कालापहाड जानैपर्ने भयो। केसी १४/१५ वर्ष जतिका थिए। चार कक्षा पढ्थे।
मलिवाङ गाउँ छोडेर धन कमाउन कालापहाड हिँडेकी आमा केशराको पछि लागे उनी। राजुको कथा उनकी आमाकै कथाबाट सुरू हुन्छ। आमाको कथा बाबुको मृत्युबाट।
बुवा उच्च हिमाली भेगमा पशुपालन गर्थे। जाडोमा तराई झर्थे। पैसा कमाउने यही मेलो थियो।
एकपटक बर्दिया पुगेका बुवा कहिल्यै आएनन्। मृत्युको समाचार आयो। उनकी आमाले पतिको लास देख्न भने पाइनन्। त्यतिखेर राजु ६ महिनाका थिए रे। पतिको मृत्युपछि २०/२१ वर्षीया केशराले दुई साना छोरालाई पाल्न जसोतसो दुःख-कष्ट गरिन्।
त्यतिबेलाको समाजमा पति मरेपछि पत्नीलाई बाँकी जीवन चलाउन निकै कठिन हुन्थ्यो। जमिन निकै कम थियो। त्यसमा उब्जेको अन्नले राम्रोसँग तीन/चार महिना मात्रै खान पुग्थ्यो।
उतिखेर पहाडमा नुन पाउन निकै कठिन थियो। अहिलेजस्तो मोटर बाटो थिएन। नुन ल्याउन नेपालगन्ज वा कोइलाबास झर्न पर्थ्यो।
‘यसको त पोइ बित्यो, यसका छोरा मरिहाल्छन्। पैंचो दिए पनि कहिल्यै तिर्न सक्दिन भन्थे,' आमाले अचेल पनि राजुलाई सुनाउँछिन्, '६ महिनासम्म बिना नुन तरकारी पकाएको त कहिल्यै बिर्सिन्नँ।'
असहयोगी समाजसँग केशरा थाकिन्। उनले ५० वर्षीया आफ्नै भिनाजुसँग बिहे गरिन्। उनीसँगबाट अर्का छोरा पाइन्। अर्काको घरमा पहिलो पतिका छोरा हेलामा पर्न थालेपछि उनले सहन सकिनन्। र तिनै छोरा लिएर पुरानै घर फर्किइन्।
छोराहरूलाई दुई छाक खुवाउनै मुस्किल हुन थालेपछि केशरा गाउँघरका दाजुभाइसँगै कमाउन हिँडिन्। जेठो छोरालाई पढाउनुपर्छ भनेर ठूला बुवाको घरमा छाडिन्। कान्छा छोरालाई आफ्नै बुवाको घरमा पठाइदिइन्।
अनि आमाको साथी राजु भए। उनैलाई लिएर कालापहाड हिँडिन्। इन्डिया गएपछि राजुले प्राण धान्न एक-डेढ वर्ष अरूको घरमा काम गर्नुपर्यो।
‘मैले एक-डेढ वर्ष जति बच्चा हेर्ने, भाँडा माझ्ने, लुगा धुनेजस्ता सबै काम गरेँ,’ राजुले भने।
त्यतिखेर उनले घर धनी र साहु महाजनले छाडेको जुठोसमेत खाए।
‘मागेर खान सकिँदैन थियो, जति दिन्थे त्यति खानुपर्ने,’ राजुले भने, ‘भाँडा माझ्ने क्रममा अरूले फालेको जुठो खाने कुरा पनि म लुकेर खाने गर्थेँ।’
त्यसपछि केशराले चिनजानका मान्छेको पसलमा छोरालाई सिलाइ-कटाइको काम सिक्न पठाइन्। त्यही सिलाइकटाइले उनलाई अहिले यहाँ पुर्याएको छ।
राजुले भने-सिलाउन अरूले सिकाए, तर मेरी आमा नै मेरो सबैभन्दा ठूलो गुरू हुनुहुन्छ। सल्यानमा उतिखेर जातभातको विभेद चर्को थियो। राजुले ‘दमाई’ ले मात्रै कपडा सिलाउने काम गर्छन् भन्ने कुरा थाहा पाएका थिए।
केशराले नै आफूलाई सिलाइकटाइको काम सिक्न पठाएपछि राजु अकमकिए।
सुरूमा उनलाई समाजले जे सिकाएको थियो त्यसकै आधारमा अकमकिएका थिए। पछि उनलाई यस्तो कुरामा विश्वास लाग्न छोड्यो। जात र कामका आधारमा सानो ठूलो कोही हुन्न भन्ने सिक्दै थिए।
राजु पहिलो पटक इन्डिया गएको तीन/चार वर्षपछि घर फर्केर आए। जतिखेर उनले सिलाइको ज्ञान हासिल गरिसकेका थिए। उनका साथीहरू ९/१० कक्षामा उक्लिसकेका थिए। आफू भारतमा बस्दा सम्झिराख्ने जन्मथलो र साथीहरू भेट्न उनी आतुर थिए।
मुटुभरि साथीहरूको माया बोकेर फर्केका राजुलाई साथीहरूले उल्टै त ‘दमाई’ काम गर्ने भन्दै फरक व्यवहार गरे। कामका आधारमा ‘दमाई’ भनेपछि पिर मानेर राजु केही दिन घरबाहिर निस्केनन्।
‘उतिखेर अहिलेजस्तो बुद्धि थिएन। मलाई साथीहरूले गिज्याएपछि म ४/५ दिन घरबाहिर निस्कन सकिनँ,’ राजुले भने, 'उनीहरूलाई सम्झाउन सक्ने पनि भैसकेको थिइनँ।'
एक महिना जति घरमा बसे। सिलाइमा थप केही गर्ने अठोटका साथ फेरि भारत हानिए। सिक्ने क्रममा उनी विभिन्न चलेका पसलमा काम गर्न गए। कहिले केदारनाथ, कहिले चन्डिगढ पुगेर कामको अनुभव बटुले।
यति गर्दासम्म उनले पाइन्ट, सर्ट सिलाउन सिकिसकेका थिए। राजुको मनमा सबै सिलाउन जान्ने एक जना ‘पर्फेक्ट कालीगढ’ बन्ने हुटहुटी कायमै थियो। जसले उनलाई चैनले बस्न दिएन। कोट सिलाउन जान्ने हुनका लागि राजु चन्डिगढकै काम गरिरहेको पसल छोडेर अर्कोमा गए। एक वर्ष सिकेपछि राजु कोट सिलाउन सक्ने भए।
त्यसपछि काम गर्दै जाँदा कामले काम सिकायो। उनी एक दक्ष कालीगढ बन्न सफल भए। हिमाञ्चलको राजधानी सिम्लाको हसन टेलरमा उनले पहिलो पटक आफ्नो पारिश्रमिक थापे।
‘मैले हप्ता दिनमा सिलाएर ८/९ सय भारू कमाउन सफल भएको थिएँ,’ राजुले भने।
२०५२ सालबाट २०६१ सम्म राजु इण्डियामै बसे। त्यसपछि २०६२/०६३ सालमा उनी स्वदेश फर्किए। त्यसअघि राजु तुलसीपुरको त्यति खेरको चर्चित डबल सी टेलरिङमा काम खोज्न गए। काम त दिने भए तर आइरन भने कोइलाबाट मात्रै गर्न पाउने सर्त तेर्साइयो।
राजुले कोइलाबाट कहिल्यै कपडामा आइरन लगाएका थिएनन्। इण्डियामा उनले बिजुली बत्तीबाटै आइरन लगाउने काम गर्दै आएका थिए।
राजुले भने, ‘तुलसीपुरमा बिजुली बत्ती थियो। तर पसल साहुले कोइलाबाटै आइरन लगाउनु पर्ने सर्त राखेपछि मलाई काम गर्न जाँगर चलेन।’
उनलाई आफ्नै देशका राजाधानी कस्तो होला? भनेर हेर्ने ठूलो धोको थियो।
घुम्न काठमाडौं पुगेका राजुले उतै काम खोजे। सुरूमा अरूको पसलमा काम गरे। पछि कलंकीमा आफ्नै पसल खोले। उनले त्यहाँ चार वर्ष जति ‘केसी टेलर्स’ चलाए। पसल राम्रै चलेको थियो।
दसैं तिहारको समयमा उनलाई घर आउन मन लाग्यो। १५ दिन पसल बन्द गर्नुपर्ने भयो। राजुले पसल नै बचेर घर फर्किए। त्यसपछि आफ्नो घरपायक मिल्ने दाङको तुलसीपुरमा ‘केसी टेलर्स’ सञ्चालन गरे। काठमाडौंमा काम गर्दा जोडेका उपकरण तथा सामान राखेर काम सुरू गरेका थिए।
सिलाइ गर्दा साथीहरूको भेदभाव भोगेको धेरै वर्ष भइसकेको थियो तर समाज भने उस्तै।
राजुलाई कतिले साँच्चै तपाईं केसी नै हो कि? ग्राहक आकर्षित गर्नलाई केसी थर लेख्नुभएको हो ? भनेर पनि सोधे।
‘कतिले त तपाईं बिटालु केसी हो भनेर पनि सोधे,’ राजुले भने, ‘बिटालु भनेको के हो? मलाई थाहा थिएन। पछि सोधपुछ गरेर बल्ल बुझेँ।’
उनको पसलमा अहिले १३ जना एक ठाउँमा र पसल भएकै ठाउँमा ३ जना कालीगढले कपडा सिलाउने काम गर्छन्। केसीका अनुसार दैनिक २५ हजारसम्मको कारोबार हुन्छ। कम्तीमा पनि महिनाको ४०/४५ हजार बचत गर्छन्।
उनलाई श्रीमती सुशीलाले पनि भरपुर सघाउँछिन्।
‘अहिले त बच्चा सानो छ, उनी बच्चाकै रेखदेखमा छिन,’ राजुले भने, ‘त्यसअघि सुशीलाले पूरै सघाउँथिन्।’
सुशीलालाई राजुले नै सिलाइ सिकाएका हुन्। सुशीलाले पनि कपडा सिलाउन सक्छिन्। भाइ प्रकाश वलीलाई पनि राजुले काम सिकाएका छन्।
प्रकाशको पनि तुलसीपुरमा आफ्नो छुट्टै ‘वली टेलर्स’ पसल छ। राजु आफैंले पुरूषका लागि हरेक प्रकारको पोशाक सिलाउने गर्छन्। तर, राजुलाई कपडा सिलाउने ग्राहकको नापो लिन भ्याइनभ्याइ हुन्छ। चाडपर्वको समयमा खाना खान समेत फुर्सद नहुने राजुले बताए।
राजुले नौ वर्षको अवधिमा धेरै पैसा कमाए। तुलसीपुरको सल्यान रोडमा दुइटा घडेरी जोडेका छन्। जसको मूल्य लगभग ६०/७० लाख रूपैयाँ पर्छ।
पसलमा काँचो तथा तयारी पोशाक गरी झन्डै ६० लाखको कपडाहरू रहेको राजुको भनाइ छ। कोठाभाडामात्र मासिक झन्डै ३० हजार तिर्छन्।
उनीकहाँ ५ हजारदेखि १५ हजारसम्मको कोट किन्न पाइन्छ। कालीगढलाई पिस तयार पारेअनुसार ६० प्रतिशत दिन्छन् र आफूले ४० प्रतिशत राख्छन्। त्यसमा लाग्ने सबै सामान राजुले आफैं दिने गर्छन्।
एक जोडा पाइन्ट सर्टको साढे नौ सय र एउटा सुट सिलाएको ३ हजार ८ सय रूपैयाँ ज्याला लिने गरेको राजुले बताए।
जीवनको अन्तिम पलसम्म अर्थात हात खुट्टा चल्दासम्म सिलाइकटाइ पेसा गर्ने राजुको इच्छा छ। त्यस्तै उनले अब तुलसीपुरमै आफ्नै घर बनाउने सपना पनि सजाएका छन्।
भारी बोक्न वा कडा मेहनतका लागि भारत तथा तेस्रो मुलुक गएर कमाएको रकम दुई तीन वर्षका लागिमात्रै हुने तर, सीप सिके त्यो जीवन भर काम लाग्ने राजुको बुझाइ छ।
‘सकभर युवाहरूले पढाइमा ध्यान दिनुपर्छ,’ राजुले भने, ‘कि, भने कुनै पनि सीप सिके जीवनमा दुःख पाइँदैन भन्ने मलाई लाग्छ।’
राजु आफैंलाई आफ्नो विगत र अहिलेको सफलताको कल्पना गर्दा आफैंलाई सपनाझैं लाग्ने गर्छ।
‘कहिलेकाहीँ म आफैंलाई आजको जीवन सपना जस्तो लाग्छ,’ उनले भने, ‘पौरख गरेर आज मैले पाएको सफलता देखेर आज सबभन्दा खुसी मेरी आमा हुनुहुन्छ।’
आमालाई सुख-सयलपूर्वक राख्न पाएकोमा आफूलाई सन्तुष्टि मिल्ने गरेको उनले बताए।