बुवाआमासँग धेरै धनसम्पत्ति थिएन। सरिता बुढामगर सानैदेखि आफ्नो खर्चको जोहो आफैं गर्दै आएकी थिइन्।
‘मैले साबुन, स्याम्पु, कापीकलम, कपडा त पातबाटै कमाएको पैसाले किन्थें,’ उनले सम्झिन्छन्।
उनी नवलपरासीमा जन्मेर हुर्किइन्।
१९ वर्षको उमेरमा भारतमा बस्ने केटासँग उनको बिहे भयो। त्यसपछि पतिसँगै उनी भारतको गढवाल पुगिन्। बिहेअघि त त्यहाँ पतिको घर छ भन्ने लागेको थियो, पुगेपछि थाहा पाइन् भाडाको घरमा बस्ने रहेछन्।
भारतको गढवाल क्षेत्रको चमोली जिल्लामा उनका पतिको परिवारले क्रसर उद्योगमा ढुंगा फुटाउने, गिट्टी बोक्ने, बालुवा चाल्नेजस्ता काम गर्थे।
‘नयाँ बेहुली हुँदा त केही दिन खाना बनाउनेमात्र काम गरें। पछि एक जनाको कमाइ त बच्ला भन्ने लागेर म पनि काम गर्न थालें,’ उनले भनिन्।
उनीहरूका दुई छोरी जन्मे। भारतमा खर्च बढ्यो। बचेको केही पैसा ल्याएर आफ्नै देशमा केही गर्नुपर्छ भनेर उनीहरू ६ वर्षअघि नेपाल फर्के।
धनगढी-१४ फुलबारीमा जेठाजुले जमिन दिए। त्यहीँ उनीहरू बस्छन्।
यहाँ आए पनि दुई वर्ष कामै नगरी बिते। खेती गर्न उनीहरूको जमिन थिएन। अरू के गर्ने पनि थाहा भएन। उनका पति ठूला गाडी चलाउन भारतै गए। उनी भने यतै बसिन्। हातमुख जोर्न उनले चटपटे पसल थापिन्।
एकदिन जंगलमा च्याउ खोज्न गएका बेला उनले सालका पात देखेपछि आफ्नो बचपन सम्झिइन्।
‘त्यसबेला खानेकुरा, दाउरा र पातहरू लिन आमासँग जंगल गएको याद आयो,' उनले भनिन्, 'सालका पात टिपेर ल्याएर टपरी दुना बनाउँथ्यौं।'
उनले टपरी बुन्ने कामबारे निकै समय गमिन्। अचेल दुनाटपरीमा म:म चाउमिन किनेर खाएको पनि उनलाई ख्याल भयो। सालका पातबाट टपरी बनाउने तालिम लिन पाइन्छ भन्ने पनि सुनेकी थिइन्।
'ओहो आफूले बाल्यकालमा सिकेको दुनाटपरीले त पैसा कमाउन सजिलो बाटो हुन्छ भन्ने लाग्यो, अनि मैले फेरि पातबाट दुनाटपरी बनाएर त्यसकै व्यवसाय गर्ने सोच बनाएँ,’ उनले भनिन् ।
सरिता पातबाट पैसा कमाउने धनगढीकी महिला उद्यमी हुन्। अहिले त उनको सालका पातबाट दुनाटपरी बनाउने उद्योग छ। तीन वर्षयता यो व्यवसायबाट राम्रो आम्दानी गर्दै आएकी छन्।
सुरूमा उनलाई उद्योग चलाउन मन भएर पनि मेसिन किन्ने पैसा थिएन। पैसा नभए पनि आफ्नो आइडियामा उनलाई विश्वास थियो। गाउँकै अरू दुई जना साथीहरूसँग मिलेर उनले उद्योग स्थापना गरिन्।
‘मैले सहकारीबाट डेढ लाख ऋण लिएर मेसिन किनें, सुरूमा साथीहरूले पनि सहयोग गरेर स्थापना गर्न सकिएको हो,' उनले भनिन्, 'अहिले भने म एक्लैले चलाएकी छु।'
उनले आफूलेमात्र काम गरेकी छैनन् अरू ३० महिलालाई पनि आफ्नो उद्योगमा काम दिएकी छन्।
हप्तामा एकदिन घरको कामकाज सकेर उनीसहित गाउँका अरू ती ३० जना महिला नजिकको जनकल्याण र भारताल सामुदायिक वनमा जाने गर्छन्। उनीहरू त्यहाँबाट सालका पात टिपेर ल्याउँछन्।
आफूले टिपेका पात सबैले आफ्ना घरमा लगेर सुकाउँछन्। पात सुक्न केही दिन लाग्छ। तबसम्म उनीहरू बाँस किनेर त्यसबाट सिन्का बनाउँछन्।
सुकेपछि सिन्काले जोडेर केही पातको एउटा लाफा बनाउँछन्। गाउँका ३० जना महिलाले हप्तामा एक दिन यस्तै लाफा सरिताकहाँ ल्याएर बेच्छन्।
‘मैले उनीहरूसँग ५ इन्चको पातको लाफालाई एउटाको ३५ पैसादेखि १० इन्चको पातको लाफा एउटाको १ रुपैयाँ २० पैसासम्मका दरले किन्छु,’ उनले भनिन् ।
सरिताले ती लाफालाई मेसिनमा कुटेर प्लेट, दुनाटपरी आदि बनाउने गरेकी छन्।
यसबारे घरेलु उद्योग कार्यालय कैलालीले उनीहरूलाई तालिम पनि दिएको थियो। तालिम पाएपछि उनीहरूले थप काम गर्न सक्ने भएका छन्।
यसरी तयार भएका सानादेखि ठूला साइजका दुनाटपरी उनको उद्योगबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री हुन्छन्।
सानो साइजको ८० पैसादेखि ३ रुपैयाँ पर्ने थाली आकारको पातको टपरी उनको उद्योगमा बन्छन्।
सरिताले यस्तो व्यवसाय गर्न थालेको तीन वर्ष भएको छ। अब श्रीमानलाई पनि यतै रोक्ने गरी व्यवसाय बढाउने लक्ष्य उनको छ।
‘पात बेचेर के होला भन्थे, तर पनि मैले निरन्तर गरिरहें, सुरूमा २ सयका दुनाटपरी बेच्न हप्तादिन लाग्थ्यो, अहिले धेरै ठाउँबाट माग आउन थालेको छ,’ उनले भनिन्।
पूजा सामाग्रीका पसलमा यसअघि बुटवलबाट टपरी आयात हुन्थ्यो। अहिले उनले स्थानीय स्तरमै उत्पादन गरेपछि त्यसैले धानिएको छ।
‘सुरूमा त लगिदिनु भनेर ग्राहक खोज्दै हिँड्नुपर्थ्यो, अहिले ग्राहक आफैं खोज्दै आउँछन् अनि अर्डर पनि आउँछ,' उनले भनिन्।
अर्डर अनुसार दुनाटपरी पुर्याउन परेपछि उनले स्कुटर चलाउन सिकिन्। अहिले आफ्नै स्कुटर किनेकी छन्।
'आफै पुर्याउन पनि जान्छु, यसबाट यातायात खर्च पनि आफैंले लिन पाएँ,’ उनले भनिन् ।
प्लाष्टिक निषेध गरिएका कार्यलय, स्कुलहरूका चमेना गृहमा उनका उद्योगबाट दुनाटपरी लगेर नास्ता खान प्रयोग हुन्छन्।
प्लाष्टिक प्रयोगले हुने प्रदुषण सालका पातबाट बनेका टपरीले घटाउन सक्ने उनले बताइन्। प्रयोग पछि यी पात प्रांगारिक मल बन्न सक्छन्।
चाउमिन, पानीपुरीका ठेला, होमस्टेमा पाहुनालाई चटनी-तरकारी दिन र केही डिपार्टमेन्टल स्टोरले पनि उनका उद्योगबाट पातका सामग्री किनेर लैजान्छन्।
‘मैले केही पैसा नाफा खाएर दिन्छु, पसलेले रुपैयाँ नाफा खाएर बेच्न पाउनुभएको छ, कर तिरेपछि राज्यलाई पनि फाइदै भएको छ, गाउँका दिदीबहिनीले दैनिक २ देखि ३ सय कमाउने बाटो पनि यसबाट बनेको छ,’ उनले भनिन्।
धनगढी उपमहानगरपालिकाले उनलाई महिला उद्यमीको प्रमाणपत्र प्रदान गरेको छ। यस्तै सांसद विकास कोषबाट उद्योगका लागि सात लाखको भवन बनाउन उनले सहयोग प्राप्त गरेकी छन्।
‘मैले बजेट पनि पाउन थालेपछि अरू दिदी बहिनीहरूले उद्योग दर्ता गरेर काम गर्ने सोचमा हुनुहुन्छ,’ उनले भनिन्।
कोरोनाको महामारीपछि उनका श्रीमान् भारत जान पाएनन्। सरिताको कमाइले नै घरखर्च पुगेको छ।
उनले आफूमात्र होइन परिवारैलाई यो व्यवसायमा हात बढाउन लगाएकी छन्।
उनका छोरीहरू पनि पढाइबाट फुर्सद भएका बेला पात टिप्ने र लाफा बनाउने काम गर्छन्। उनीहरूले फुर्सदमा काम गरेर आफ्नो खर्च जोहो गर्न सक्ने भएका छन् ।
छोरीहरूले मात्र होइन सासुले पनि काममा सघाउँछिन्।
‘सासुआमाले सिन्का बनाएको पैसा पाउनुहुन्छ, छोरीले मेसिनमा पात कुटेको पनि पैसा पाउँछन्, उनीहरूले आफ्नो खर्च आफैं जोड्छन्,’ उनले भनिन्।
उनको उद्योगमा प्रयोग हुने पात सालका पोथ्राबाट टिप्न गरिन्छ। कलिला पात र टुप्पाका पात टिप्न दिइँदैन। यी काम लाग्दैनन् र बिरूवालाई असर पार्नुहुन्न भन्ने उनीहरूले बुझेका छन्।
‘बिरूवालाई यस वर्ष नोक्सान पुर्याए अर्को वर्ष कहाँबाट पात पाउने, त्यसैले झरेर जाने पातको सदुपयोग मात्र गर्ने हो,’ उनले भनिन्।
अहिले तिनै झरेका सालका पातको व्यवसायबाट सरितालाई मासिक ३० देखि ४० हजार नाफा हुन्छ।