एनालग इंक र पश्चिमाञ्चल होटल संघबीच सम्झौता भएको छ। महामारीपछि पर्यटन क्षेत्र विस्तार गर्ने लक्ष्यसहित एनालग इंक र पोखरास्थित पश्चिमाञ्चल होटल संघबीच सम्झौता भएको हो।
एनालग इंक एक प्राविधिक र डिजिटल मार्केटिङ कम्पनी हो। कम्पनीले विभिन्न क्षेत्रमा उच्च स्तरको प्राविधिक र डिजिटल मार्केटिङ रणनीति र सेवाहरू उपलब्ध गराउँदै आएको छ। पश्चिमाञ्चल होटल संघसँगको सम्झौतासँगै एनालगले उचित मूल्यमा होटलहरूलाई डिजिटल मार्केटिङ सेवाहरू प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।
कोरोना महामारीका कारण अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ। विभिन्न संघसंस्था र होटल व्यवसायीहरूले महामारीको प्रभावबाट उठ्न विभिन्न रणनीतिहरू अपनाइरहेका छन्। यसैबीच यो सम्झौताले सकारात्मक प्रभाव पुर्याउने उनीहरूले विश्वास राखेका छन्।
देशको अर्थतन्त्रमा पर्यटन व्यवसायले ठूलो भूमिका खेलेको छ। यस्तैमा एनालगका सिइओ आशुतोष अग्रवाले भनेका छन्, 'हामी सबै मिलेर कोभिड १९ सँग लड्नुपर्छ। हामीले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर बिन्दुमा पुर्याउन विभिन्न रणनीतिसहित काममा अघि बढ्नु जरुरी छ।'
एनालग इंकले वेबमा आधारित बुकिङ सेवा प्लेटफर्म डिजाइन गर्ने बताएको छ। जसले गर्दा ग्राहकहरूलाई होटल बुकिङमा सहज हुनेछ।