स्टार्ट-अप फेयर 'रिभ्याम्प नेपाल' को दोस्रो संस्करण आयोजना हुने भएको छ। यही साउन २९ र ३० गते आयोजना हुन लागेको रिभ्याम्प नेपालले विभिन्न क्षेत्रका एक सयभन्दा बढी स्टार्ट-अपलाई सहभागी गराउने बताइएको छ।
कोरोना महामारीका कारण साना ठूला व्यवसायलाई असर पारेको छ। कतिपय व्यवसाय र उद्यमहरूले बजार पाइरहेका छैनन्। थुप्रै साना व्यवसायी र उद्यमीहरू महामारीको असरपछि निराश छन्।
यस्तोमा 'रिभ्याम्प नेपाल'ले उनीहरूमा सकारात्मक प्रभाव पार्ने र स्टार्ट-अप एवम् उद्यमहरूलाई विस्तार गर्न मद्दत पु-याउने लक्ष्य राखेको फाइब्रोका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज राज पाण्डेले बताए।
'रिभ्याम्प नेपाल' नेपाली कपडा ब्रान्ड फाइब्रो, सरल माइन्ड, टेक साथी र आइडिया जारको संयुक्त प्रयासमा आयोजना हुँदैछ।
फाइब्रो सिइओ सुरजका अनुसार अहिलेको अवस्थालाई मध्यनजर गर्दै 'रिभ्याम्प नेपाल २.०' भर्चुअल हुन लागेको हो। यसअघि 'रिभ्याम्प नेपाल' भौतिक उपस्थिति मै आयोजना भएको थियो।