मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ।
मेगा बैंक नेपा, ए एन्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा दिने सम्झौता भएको हो।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा बैंककी सिइओ अनुपमा खुञ्जेली, एन्ड डी आक्वा बिजनेशका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारीका अध्यक्ष शिवहरी आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
ए एन्ड डी आक्वा बिजनेशले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु उपलब्ध गराउने, मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जा उपलब्ध गराउन सहजिकरण गर्नेछ।
हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन्।
यसै गरी आजै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुरमा नयाँ शाखा विस्तार गरी बैंकिङ कारोबारको शुभारम्भसमेत गरेको छ।