नेपाली कांग्रेस नेता सुष्मा गिरी लामिछाने मध्य साउनमा काम विशेषले बाँके गएकी थिइन्। दाङ, तुलसीपुर-६ की बासिन्दा उनलाई गर्मी खपी नसक्नुभयो।
'यो गर्मी छल्न पानीमा डुबुल्की मार्न पाए त,' उनले आफूसँगै गएका श्रीमान प्रेम गिरीलाई भनिन्।
प्रेमले केही समयपहिले मात्रै कोहलपुर-१४ हवल्दारपुरमा खुलेको ह्याप्पी वर्ल्ड फनपार्कबारे सुनेका थिए। उनीहरू पार्कमा रमाए। चिप्लेटी खेले। संगीतसहितको फोहरामा नाचे। माथि बाल्टिनबाट आउने पानीमा नुहाए। भुइँभन्दा माथि टाँगिएको डोरीमा साइकल चलाए। डोरीमा सेनाहरूजस्तै झुन्डिएर वारपार गरे।
साहसिक र मनोरञ्जनात्मक दुवै प्रकारका खेलले आनन्द दियो।
गर्मी चर्किएसँगै गिरी दम्पती जस्ता कयौं मान्छे यहाँ रमाइलो गर्न आउन थालेका छन्। कोहलपुरबाट झन्डै ५ किलोमिटर दक्षिण र नेपालगञ्जबाट झन्डै ११ किलोमिटर उत्तर मुख्य सडकखण्डमै अवस्थित पार्कमा विशेषगरी केटाकेटी र युवाको जमात हुन्छ। भारतीय नागरिकहरू पनि उत्तिकै भेटिन्छन्।
नेपालगञ्जबाट करिब ८० किलोमिटर टाढाको भारत, बहिराइचका अफ्ताब आलम र उनका साथी ५० मिटर उचाइको सलाइडरमार्फत पानी-पोखरीमा झर्दै मजा लिइरहेका थिए। बहराइचकै साथीहरू यो फनपार्क घुमेर गएका रहेछन्। उनीहरूले सुनाएपछि आलमहरू पनि रमाइलो गर्न आएको बताए।
'यो पार्क एकदमै राम्रो रहेछ,' आलमले भने, 'यहाँ आएर धेरै खुसी भयौं, पैसा असुल भयो।'
पार्कबारे अरू साथीलाई पनि जानकारी दिने र फेरि-फेरि घुम्न आउने उनले बताए। भारतको रूपैडिहा क्षेत्रबाट पनि थुप्रै युवा यहाँ आइरहेका हुन्छन्।
ह्याप्पी वर्ल्ड फन पार्क बाँकेका तीस जना व्यवसायीले मिलेर खोलेका हुन्। फनपार्कका प्रबन्ध निर्देशक विजय भण्डारीका अनुसार जग्गा खरिदसमेत गरी हालसम्म झन्डै ३५ करोड रूपैयाँ लगानी भएको छ। मागअनुसार उपकरण र संरचना थप्दै जाने सोच भएकाले लगानी बढ्न सक्छ।
उनीहरूलाई फनपार्क बनाउने सोच भने २०७१ सालतिरै आएको हो। त्यो साल गर्मीयाममा उनीहरू भारत, लखनउ भ्रमण गएका थिए। उकुसमुकुस भएपछि उनीहरू लखनउकै वाटरपार्क घुम्न गए। त्यहाँ उनीहरूले अरू थुप्रै नेपालीहरू भेटे।
भण्डारीले त्यो देखेर सोचे- यस्तै वाटरपार्क बाँकेमा बनाउन पाए प्रचन्ड गर्मीमा धेरै मान्छे रमाउन पाउँथे होला! वाटरपार्कमा रमाउनकै लागि विदेशिने पैसा जोगिन्थ्यो होला!
फर्केपछि उनले यो कुरा साथीहरूलाई सुनाए। ठूलो पुँजी चाहिने भएकाले एकल लगानीमा चाहेजस्तो पार्क बनाउन मुश्किल थियो।
सबै सहमत भएपछि उनीहरूले २०७३-०७४ सालतिर चार बिघा जग्गा किने र पार्क निर्माण थाले। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर २०७७, वैशाख १ गते उद्घाटन गर्ने तयारीसहित काम हुँदै थियो। तर कोरोना भाइरसका कारण २०७६ चैतदेखि लकडाउन भइदियो। उनीहरूको योजना भताभुंग भयो। साझेदारमध्ये कतिले ऋण काढेर बैंकको किस्ता तिरे।
लगभग तयारी अवस्थाको फनपार्क देख्नेहरूले भने भण्डारी र उनका साथीलाई बरू सञ्चालन गरिहाल्न सुझाए।
'त्यो अन्यौल र अत्यास लाग्दो समयमा मानिसहरू निराश थिए,' भण्डारीले भने, 'त्यस्तै केही मानिसको आग्रहपछि उनीहरूकै खुसीका लागि भए पनि हामीले अनौपचारिक रूपमा पार्क खोल्यौं। पार्क सञ्चालनमा आइरहे पनि यसको औपचारिक उद्घाटन भएको छैन।'
सबैका लागि सहज अवस्था भएपछि मात्रै उद्घाटन गर्ने योजना उनीहरूको हो। अहिले पार्कमा रमाउन आएका मानिस देखेर आफूहरू उत्साहित भएको पनि भण्डारीले बताए।
'आसपासका सबै जिल्लाबाट मान्छे आउँछन्,' उनले भने, 'हालसम्मको तथ्यांक हेर्दा सबभन्दा धेरै आउने भारतीय नागरिक छन्।'
सार्वजनिक बिदाको दिन पार्क लगभग भरिभराउ हुन्छ। शनिबार नेपालीहरू धेरै हुन्छन् भने आइतबार भारतीयहरू।
भण्डारीका अनुसार मनोरञ्जनका लागि पार्कमा विभिन्न आकार-प्रकारका तीनटा पोखरी छन्। पानी आपूर्ति पार्क परिसरमै बनाइएका तीनवटा डिप बोरिङबाट हुन्छ। केटाकेटी, महिला र वयस्कलाई बेग्लै पोखरी र स्लाइड छ। स्विमिङका निम्ति आवश्यक कस्ट्यूम, चेन्जिङ रूम, त्यसपूर्व नुहाउन अलग्गै ठाउँ छ भने पोखरीभित्रै छाल उत्पन्न गर्ने उपकरण राखिएको छ।
बाल्टिन, फोहोराबाट पानी आउने जस्ता संरचनाले पार्क आकर्षक देखिन्छ। नेपाल हिमालको देश भनेर चिनाउन पोखरी नजिकै हिमाल दर्शाउने संरचना बनाइएको छ। पोखरी आसपासमा विभिन्न जीवजन्तुका आकर्षक संरचना छन्।
पानीमा खेल्न नरूचाउनेका लागि पिङ, बञ्जि-जम्पिङ, जाइन्ट-स्विङ, स्काइ-साइक्लिङ, जीप-लाइन जस्ता खेल छन्। जेष्ठ नागरिकलाई टहल्न बगैंचा-चउर छ। खाजा/खानाका निम्ति रेस्टुरेन्ट पनि छ।
पार्क प्रवेश शुल्क एक सय रूपैयाँ हो। त्यसपछि व्यक्तिले चाहेअनुसार मनोरञ्जन लिन टिकट काट्नुपर्छ।
जीप-लाइन खेल्न एक जनाको दुई सय, स्काइ-साइक्लिङको दुई सय पचास, पानीमा सबै खाले मनोरञ्जनका लागि पाँच सय, बच्चाहरूको बञ्जि-जम्पिङका लागि एक सय पचास रूपैयाँ लाग्छ।
'एक जनाका निम्ति पन्ध्र सय लिएर यहाँ आउनेले दिनभर रमाउन पाउँछ,' भण्डारीले भने, 'पानीमा रमाउन चाहनेले पाँच सय तिरे बिहान साढे दस बजेदेखि बलेका ६ बजेसम्म खेल्न पाउँछन्।'
साँझ ६ बजेदेखि रेस्टुरेन्ट खुला हुन्छ। त्यसैले बेलुका आउने पाहुनालाई निःशुल्क प्रवेश छ।
लगातारको लकडाउनका कारण पार्कबाट फाइदा भने लिन नसकिएको भण्डारी बताउँछन्। पार्कमा सुरूमा एक सय हाराहारी कर्मचारीले रोजगारी पाएका थिए। तर दोस्रो लहरको कोरोना र लकडाउनका कारण आधा कर्मचारी कटौती गर्नुपरेको भण्डारी बताउँछन्। उनका अनुसार अहिले पार्कको मासिक खर्च १३-१४ लाख रूपैयाँ हो।
'अहिलेको अवस्थामा सबैले चित्त बुझाउनुको विकल्प छैन। तर सधैं यस्तै रहिरहन्न। हामी आशावादी छौं,' भण्डारीले भने, 'त्यसैले लगानी थपिरहेका छौं।'
अहिले फाइदा नभए पनि पछिको सोचेर काम गरिरहेको बताउँदै भण्डारीले थपे, 'हाम्रै परिवारका सदस्य यहाँ आएर रमाउँछन्। सर्वसाधारण पनि खुब रमाएको देखेको छु। हामीले पैसा लगायौं होला तर धेरैका लागि खुसी दियौं कि जस्तो लाग्छ।'