नेपालगञ्ज, धम्बोजी चोकैमा छ बिबी साइकल सेन्टर। भित्तामा मोहम्मद शरिफ वागबानले बीस वर्षअघि चलाएको एउटा साइकल झुण्ड्याइएको छ। नेपाल प्रहरीका पूर्व जागिरे ७० वर्षीय शरिफ कहिलेकाहीँ यहाँ आउँछन्। आफ्नो साइकल यात्रालाई ताजगी पार्छन्।
यो पसल उनका छोराको हो। पसल रहेको घर र जमिन पनि। योबाहेक बागवान परिवारका चोकमै थप दुइटा साइकल पसल छन्।
'हाम्रो साइकल पसलबारे नेपालका अधिकांश साइकल व्यापारीलाई थाहा छ,' बागवान परिवारका कान्छा छोरा अब्दुल अजीजले भने, 'यति मात्र होइन। पहिले हामीले साइकल ल्याउने काठमाडौं, पोखरा, बुटवल लगायत ठाउँका व्यापारीलाई समेत अहिले हामी नै साइकल दिन्छौं।'
यहाँ बच्चादेखि जेष्ठ नागरिकका लागि र लाख पर्ने स्पोर्ट्स साइकल किन्न पाइन्छ। त्यस्तै दुई जनाले चलाउन मिल्नेदेखि बच्चा सुताउन मिल्ने झोलुंगो र वाकरसम्म बिक्री हुन्छ।
अजीजका अनुसार यो पसलबाट मात्र दैनिक आठदेखि दस वटा साइकल बिक्छ। महिनामा कम्तीमा दुईदेखि तीन सय वटा।
'सामान्य साइकलको मात्र कुरा गर्दा दैनिक ५० हजार जतिको कारोबार हुन्छ,' उनले भने।
बिबी साइकल सेन्टर अजीजका जेठा दाजु मोहम्मद शरिफले हेर्छन्। पाँच जना दाजुभाइ भएको बागवान परिवारका कान्छा अजीजले फिटनेस सेन्टर पनि खोलेका छन्। काइँला मोटरसाइकल शोरूम चलाउँछन्। बाँकी भने साइकल व्यापारमै जमेका छन्।
साइकल व्यवसायमा बागवान दाजुभाइले पाएको यो सफलताको कथा भने सडकबाट सुरू हुन्छ।
अजीजलाई याद छ, उनका दाजुभाइ दिनभर सडकमा बोरा ओच्छाएर बस्थे। घामपानी झेल्दै पंचर भएका साइकल मर्मत गर्थे।
यो काम उनीहरूले परिवारमा आइपरेको आर्थिक संकट टार्न सुरू गरेका थिए।
२०४३ सालको कुरा हो। बागवान परिवारको सानो किराना पसल थियो। त्यतिखेर सडक निर्माणको काम चलिरहेकाले ठेकेदारहरू श्रमिकलाई चाहिने सामान उनीहरूकै पसलबाट उधारोमा लैजान्थे। हप्ता-दस दिनमा पैसा दिन्थे।
एकपटक तीन महिनासम्म ठेकेदार आएनन्। बेचेको सामानको पैसा नपाएपछि घाटा भयो। उता उधारोमा सामान ल्याएका साहुले ताकेता गर्न थाले। ऋणले पेल्न थालेपछि पसलै बेचेर तिर्नुपर्यो।
ठिकठाक चलिरहेको परिवारले एकातिर घाटा खेप्नुपर्यो, अर्कातिर जेठा छोरा शरिफ एलएलसी पास हुन नसकेपछि बिरक्तिए। शरिफले कामको खोजीमा भारत, मुम्बई जाने सोच बनाए।
त्यस्तैमा एकदिन उनलाई छिमेकी भगवती न्यौपानेले सम्झाए- मुम्बई नजाऊ। बरू नेपालगञ्जकै सडकमा बोरा ओच्छाएर पंचर भएका साइकल टाल।
त्यो बेला भर्खर १८ वर्ष लागेका शरिफलाई छिमेकीको सुझाव मनपर्यो। सडकमा बसेर काम गर्दा भाडा तिर्नु नपर्ने, लगानी पनि नचाहिने।
शरिफ र उनका माइला भाइ अनिफले त्यही बाटो पछ्याए।
कहिल्यै नगरेको काम गर्न सजिलो कहाँ हुन्छ र! सुरूसुरूमा ट्युब निकाल्न नजानेर कति काटियो। तर कलिला ठिटाको मेहनत देखेर मानिसहरूले गाली गरेनन्। 'भोलि सिक्छौ नि, काम गर्दै जानू' भनेर उल्टो ढाडस दिए।
यो कामबाट राम्रो आम्दानी हुन थाल्यो। अनिफ प्राविधिक कुरामा चासो र दख्खल राख्थे। उनले छिट्टै साइकल मर्मतका अरू काम सिके। मानिसहरू साइकल बनाउन बागवान दाजुभाइलाई खोजीखोजी आउन थाले।
व्यापार चम्किँदै गयो। उनीहरूले साइकलका पाटपुर्जा पनि बेच्न थाले। ती सामान उनीहरू नेपालगञ्जकै पुरानामध्येका साइकल स्टोरबाट ल्याउँथे। पछि उनीहरू आफैं रूपैडिहा बजार पुगेर ल्याउन थाले।
यतिन्जेलसम्म पनि उनीहरूले सडकबाटै काम गरिरहेका थिए। तर सधैं यसरी हुन्थेन। त्यसमाथि व्यापारिक केन्द्र नेपालगञ्जमा मान्छेको भिड बढ्दै थियो। साइकल चलाउनेको संख्या पनि उक्लिन थाल्यो।
उनीहरूले पसल खोल्ने निधो गरे। लगानी नभएकाले साझेदार खोजे र पहिलो पसल खोले- अकेला साइकल स्टोर।
'अरूसँग पनि मिलेर पसल खोलेका थियौं। तर केहीले बीचमै छाडिदिए,' अजीजले सुनाए, 'त्यसपछि पार्टनरसिपको काम बन्द गर्यौं।'
बरू सानै भए पनि आफ्नै मात्र लगानीको पसल खोल्ने योजना बनाएपछि २०५४ सालमा बागवान परिवारले खोल्यो- बागवान साइकल स्टोर।
यसरी सडकमा बोरा ओच्छाएर सुरू गरेको कामले आज बागवान दाजुभाइलाई व्यवसायी बनाएको छ।
उनीहरूका दिदीबहिनी छैनन्। दाजुभाइ सगोलमा बसिरहेका छन्। धम्बोजीको घरजमिन उनीहरूले यही पौरखबाट जोडेका हुन्। उक्त जग्गाको मूल्य मात्रै करोड माथि पर्छ।
'एउटा साइकल बेच्दा पाँच सयदेखि एक हजारसम्म फाइदा हुन्छ,' अजीजले भने, 'साइकल व्यापारमै लगभग ४५ जनालाई रोजगारी पनि दिएका छौं।'
उनीहरूसँग करिब आधा दर्जन गाडी छन्। भण्डारमा भएका सबै साइकलको मूल्य करोड बढी छ।
बागवान परिवारका काँइला छोराले बाहेक कसैले एसएलसी पास गरेका छैनन्। त्यसैले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन कुनै कसर बाँकी नराखेको बताउँछन् अजीज। साइकल व्यापारकै कमाइबाट पढेका उनीहरूका सन्तान कोही डाक्टर भए त कसैले एमबिए सके। कोही भने उच्च शिक्षा अध्ययनकै क्रममा छन्।
अजीज भन्छन्, 'मान्छेले आज म ठूलो मान्छे भएँ भनेर विगत र पृष्ठभूमि कहिल्यै भुल्नु हुँदैन। पछाडिको कुरा सम्झिनेहरू नै अगाडि बढ्न सक्छन्।'
बागवान दाजुभाइले ३३ वर्षदेखि गर्दै आएको व्यवसाय अझै विस्तार गर्ने योजना बनाएका छन्। अजीजका अनुसार एउटै छानामुनि सबै कुरा पाइने डिपार्टमेन्ट स्टोर खोल्ने चाहना हो।
'तर हामी साइकल पसल छोड्न चाहन्नौं। यसले मानिसलाई निरोगी बनाउन सहयोग गर्छ,' उनले भने, 'अनि आर्थिक अवस्था कमजोर भएकाको साथी पनि हो साइकल।'