बुध्द एयरले काठमाडौं बाहेक पोखराबाट देशको विभिन्न प्रदेशहरुसँग सिधा उडान थालेको छ।
यसअघि नै एयरले पोखराबाट भैरहवा र भरतपुर सिधा उडान विस्तार गरेको थियो। केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो।
आगामी सेप्टेम्बर १ अर्थात भदौ १६ गतेबाट बुध्द एयरले पोखराबाट सिमराको सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ।
सुरुआतमा साताको ३ दिन आईतबार, बुधबार र शुक्रबार उडान भर्ने बताइएको छ। केही समयपछि यात्रुको माग अनुसार बुध्द एयरले दैनिकी उडान भर्ने योजना बनाएको छ।
पोखराबाट सिमरा १२ः२० र सिमराबाट पोखराको उडान १३ः१५ बजे तोकिएको छ।
यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन्। यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
उनका अनुसार सिमरार, वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन्। सिमरा र वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ।
सिमरा र वीरगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिम श्रृंखलाको आनन्द लिन सक्छन्।
यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय सहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ।
सिमरा-पोखरा प्याकेजका लागि १०,९९९ रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट सुविधा छ।