नागरिकतामा उनको नाम कालीमिया कस्मिरा खातुन छ। तर उनलाई सबैले कस्मिरा खातुनको नामले चिन्छन्। कस्मिराको जन्मघर अर्घाखाँचीको पाली भन्ने ठाउँमा हो।
आमाबाबुले कस्मिरा १४ वर्षको छँदा बिहे गरिदिए। जतिखेर उनी कक्षा ८ मा पढ्थिन्। यो २०५२ सालको कुरा हो। श्रीमान संशोदिन मियाको उमेर झन्डै दोब्बर बढी थियो। बिहेपछि कस्मिरालाई श्रीमानले अर्घाखाँचीबाट दैलेख लगेर गए।
दैलेखमा उनको कस्मेटिक पसल थियो। त्यही बेला हो, कस्मिराले जीवनमै पहिलो पटक बस देखेको। उनीहरू कपिलबस्तुबाट धनगढी जाने बस चढे। बस दाङको लमही बजार पुगेर रोकियो।
कस्मिरालाई श्रीमानले के खान्छौ? भनेर सोधे। त्यतिखेर उनले चकलेट किन्न पठाएको स्मरण गरिन्।
‘म चौध वर्षको केटाकेटी उमेरमै थिएँ र मैले श्रीमानलाई चकलेट खान्छु भने,’ कस्मिरा २६ वर्ष पहिलेको घटना सम्झिइन्।
सात/आठ वर्षजति दैलेखमा पसल चलाउँदा उनीहरूले राम्रै आम्दानी गरे। हरेक मानिस आफ्नो थप तरक्की चाहन्छ। उनीहरूले पनि अब तराइ झरेर अलि ठूलो व्यापार गर्ने सल्लाह गर्न थाले।
त्यसपछि उनीहरू बाँके झरे। नेपालगन्ज झरेर पनि उनीहरूले कस्मेटिक पसल नै गरे। आफन्तसँग मिलेर पार्टनरसिपमा पसल खोलेका थिए। एकाएक व्यापार बिग्रियो। घाटा हुँदै गयो। जसले गर्दा कस्मिराका श्रीमान संशोदिन मिया डिप्रेसनमा गए।
कस्मिराले श्रीमान संशोदिनको उपचार गर्न नेपालगन्ज, काठमाडौं, भारतको लखनउ लगायत धेरै ठाउँ लगिन्। लाखौं खर्च भयो। पछि भैरहवा लगेर डाक्टर मनोज ढुंगानासँग उपचार गराउँदा संशोदिनको स्वास्थ्यमा केही सुधार आयो। त्यसपछि उनीहरू फेरि फर्केर नेपालगन्ज पुगे।
अब पहिलेजस्तै पसल गर्न सक्ने आर्थिक हैसियत उनीहरूसँग रहेन। अर्कोतर्फ साना दुई छोरा मोहम्मद सद्दाम अली र अनिस अलीको पालन पोषण गर्नु थियो। कस्मिराको परिवार एउटा कोठा भाडा लिएर बस्यो। उनको काँधमा बिरामी श्रीमानको उपचार खर्च जुटाउनेदेखि साना दुई छोरालाई पढाउने लेखाउने र लालनपालन गर्ने दायित्व थपियो।
भएका गरगहना वा नगद सबै उपचारमा स्वाहा भइसकेको थियो। कस्मिरा निकै तनावमा थिइन्।
रोएर बस्दैमा समस्या समाधान हुँदैन थियो। उनले अनेक विकल्पबारे सोच्न थालिन्। अर्घाखाँचीमा छँदै आफ्नी संगी तारा दमाईसँगै लागेर रहर र मजागमै कस्मिराले अलिअलि कल (लुगा सिलाउने मेसिन) चलाउन सिकेकी थिइन्।
‘वन-जंगल जाने बेला साथीको घरको बाटो जानुपर्थ्यो र स्कुल जाँदा-आउँदा मेरो घरको बाटो,’ कस्मिराले सम्झिन्, ‘साथीको बुवा घरमा नुहँदा हामीहरू खेल्न भनेर टालाटुली बनाउन आलो पालो सिउँथिम्।’
कस्मिराले त्योबाहेक सिलाइकटाइको कुनै तालिम लिएकी थिइनन्। अप्ठ्यारो उनले तारासँगै मजागमा सिकेको सीपलाई पेसाका रूपमा अँगाल्ने निधो गरिन्।
त्यहीबेला कस्मिराको अवस्था देखेर टोलका १३ जना दिदी-बहिनी मिलेर उनलाई एक/एक हजार रूपैयाँ सहयोग गरे। कस्मिराले १३ हजारमध्ये सात हजारको एउटा कपडा सिलाउने मेसिन किनेर कोठामा ल्याइन्। बचेको पैसाले पेटिकोट बनाउन थान कपडा किनिन्।
पेटिकोट सिलाउन सिक्न सुरूमा उनले कापीका पाना काटिन्। झुत्रा टालटुली सिलाइन्। दिन-रात घोत्लिएर काम सिकिन्। अलि विश्वास पलाएपछि आफैं पेटिकोट काटिन्। त्यो सिलाएर टोलमै डुलाएर बेचिन्। त्यसपछि उनले धमाधम सिलाउँदै र बेच्दै गइन्। पन्ध्र-बीसवटा पेटिकोट बेच्दा दैनिक तीन-चार सय फाइदा हुन थाल्यो।
सुरूमा पाँच/सात वटामात्रै पेटिकोट सिलाउन सक्ने कस्मिराले बिस्तारै दैनिक तीस-चालीस गर्दै एक सय वटासम्म पेटिकोट तयार पार्न थालिन्। एकै दिन पाँचदेखि दस हजारसम्म कमाइ हुन थाल्यो।
त्यही बीचमा उनी एउटा कपडा पसलमा पुगिन्। त्यो कपडा पसल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यको थियो। कस्मिराले वैश्यलाई आफूले तयार पारेका पेटिकोट किनिदिन आग्रह गरिन्। वैश्यले केही थान राखिदिए। ती सबै बिकेपछि वैश्यले कस्मिरालाई पेटिकोट सिलाउन आवश्यक जति पनि कपडा दिन सहमत भए।
सिलाएर दिएवापत् एउटा पेटिकोटको पाँच रूपैयाँ ज्याला दिने वैश्य र कस्मिराको बीचमा सहमति भयो। उनले धमाधम सिलाउँदै दिन थालिन्। अब कस्मिरालाई पहिलेजस्तो डुलाउँदै बेच्नु पर्ने झन्झट थिएन।
उनले आफैंले कपडा किनेर तयार पारेका अरू केही पेटिकोट भने फाट्टफुट्ट आसपासमा डुलाएर बेच्न भने छाडेकी थिइनन्। त्यसरी बेच्दा उनलाई बढी फाइदा हुन्थ्यो।
धेरै पेटिकोट तयार पारेको दिन स्थानीय एक जना साइकल चलाउने व्यक्तिलाई गाउँ-गाउँसम्म बेच्न पठाउँथिन्। ती व्यक्ति सबै पेटिकोट बेचेर घर आएर पैसा बुझाउँथे। अन्य केही कपडा पसलेले पनि किन्न थालेका थिए।
केही समयपछि वैश्यले एकै पटक धेरै पेटिकोट सिलाउन अडर दिए। यो कस्मिराले काम सुरू गरेको छ महिना पछिको कुरा हो। अर्डरअनुसार भनेकै समयमा उनी एक्लैले सिलाउन सम्भव थिएन। उनले टोलका अरू दिदीबहिनीलाई भनिन्। अर्डर धेरै आएकाले उनीहरूलाई पनि सिलाउन आउन आग्रह गरिन्।
सबै उनसको कुरामा सहमत भए। उनीहरूलाई मेसिन समाउन र पेटिकोट सिलाउन उनैले सिकाइन्। मेसिन भने उनीहरूले नै किनेर ल्याए।
फुर्सद सदुपयोग पनि हुने, काम र दाम पाउन थालेपछि टोलका अन्य महिला खुसी नहुने कुरै थिएन। यति गर्दासम्म कस्मिराको कामले एउटा सानो तिनो उद्योगको रूप ग्रहण गरिसकेको थियो। अरू महिला उत्साहित थिए। कस्मिराले महिलाका लागि म्याक्सी सिलाउने निधो गरिन्। म्याक्सी उधार्दै, सिलाउँदै, झुत्रा कपडा र कागज काट्दै सिकिन्।
आफ्नो उत्पादनबारे बताएपछि व्यापारी वैश्य लगायतले उनले सिलाएका म्याक्सी राखिदिए। नयाँ अर्डर दिए। आठ-दस महिला सँगै काम गर्दा काम गर्न सजिलो र रमाइलो हुन थाल्यो। कस्मिराको कोठा अब उनीहरूका लागि साँघुरो भइसकेको थियो। उनले नजिकै एउटा घरमा पूरै फ्ल्याट भाडा लिइन्। तीन वर्षसम्म त्यही फ्ल्याटमा उनीहरूले काम गरे।
चार वर्षपछि उनले होजेरी आइटममा हात हाल्ने निधो गरिन्। ट्राउजरहरू पनि सिलाउन थालिन्। अब त्यो फ्ल्याट पनि साँघुरो भयो। कस्मिराले पूरै घर भाडा लिइन्। कालीगढ थपिँदै गए।
त्यो घर पनि साँघुरो भएपछि कस्मिरा अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलमा जग्गा जमिनसहितको एउटा पूरै घर भाडा लिएर उद्योग सञ्चालन गर्दै आएकी छन्- लुम्बिनी फेब्रिक इन्डिष्ट्रिज प्रालि।
यहाँ उद्योगका लागि छुट्टै ट्रस्ट निर्माण गरिएको छ। अनि कस्मिराले स्विटर बनाउन आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने मेसिन पनि ल्याइन्।
एक वर्ष पहिले यसको नाम लुम्बिनी गार्मेट उद्योग मात्रै थियो।
नाम परिवर्नत गर्नुको कारण कस्मिराले खुलाइन्, 'पहिला कच्चा पदार्थ ल्याएर हामीले काम गर्थ्यौं। अब हामी आवश्यक कच्चा पदार्थ आफैं तयार पार्ने गर्छौं। त्यही भएर कम्पनी दर्ता गर्नु परेको हुँदा नाम परिवर्तन गर्नु परेको हो।'
अर्डरअनुसार विभिन्न विद्यालय र प्रहरी तालिम केन्द्रका युनिफर्म, हस्पिटल गाउन, विभिन्न नारा र भनाइहरू लेखिएका टिसर्ट, स्वीटर धमाधम तयार पार्दै गइन्।
‘जसले जस्तो कपडा खोज्छ, हामी त्यहीअनुसार कपडा उत्पादन गर्न सक्थ्यौं,’ कस्मिराले भनिन्।
उनको उद्योगमा काम गर्न दैनिक ७०/८० जना कालीगढ आउँथे। २०७४ साल पुस २६ गते राति नसोचेको घटना भइदियो। विद्युत सर्ट भई (इन्टरलक) कपडा निकाल्ने मेसिनबाट उद्योगमा आगो लाग्यो।
‘मैले दिन-रात मेहनत गरेर जोडेको उद्योग सबै खरानी भयो,’ कस्मिराले भनिन्, ‘केही बचेन, स्वाहा भयो। लगभग साढे तीन करोड जतिको क्षति भयो।’
उनी पुरानै स्थितिमा पुगिन्। अब कता जाने के गर्ने? भन्ने अन्यौलमा परे पनि हरेश खाइनन्। त्यही बेला कस्मिराको जलेको घाउमा मल्हम लगाउन नेपालगन्जका १५ जना व्यापारी तयार भए। घरमै आएर उनीहरूले कस्मिरालाई ढाडस मात्रै दिएनन्, ७०/७० हजार रकम सहयोग पनि गरे।
त्यो साढे दस लाख रुपैयाँले फेरि उनले पुरानै पेसा सुरू गर्ने अठोट गरिन्। घडेरी धितो राखेर बैंकबाट ५० लाख निकालिन्। विभिन्न संस्था र सहकारीबाट समेत ऋण मागेर एक करोड रुपैयाँ जोहो गरिन्। उद्योगका लागि आवश्यक मेसिन किनेर ल्याइन्। अनि आँट र मेहनतले यो साढे तीन वर्षमा आज कस्मिरा लगभग पहिलेकै अवस्थामा फर्किएकी छन्।
‘महिला उद्यमी कर्जा केही सस्तो छ, तर बैंकको ब्याज भने चर्को छ,’ कस्मिराले भनिन्, ‘मैले मासिक साढे तीन लाखजति ब्याजमात्रै तिर्छु।’
हाल उनको उद्योगमा ६० वटा जति विभिन्न खाले मेसिन छन्। दैनिक ६०/६२ जना कालीगढ काम गर्छन्। दैनिक १५ सयदेखि दुई हजारको हाराहारीमा विभिन्न खाले पोशाक तयार हुन्छन्।
‘दैनिक कारोबार दुई लाखदेखि सिजनमा चार लाखसम्मको हुन्छ,’ कस्मिराले भनिन्, ‘मैले हिसाब हेर्ने एकाउन्टेन्ट राखेकी छु।’
कस्मिराको उद्योगमा लेखपढ गर्न नजान्ने गृहणी महिलादेखि बिए पढ्दै गरेका युवा-युवती पनि कालीगढ छन्। उनीहरूले मासिक ८/१० हजारदेखि एक लाखसम्म कमाउने गरेको कस्मिराले बताइन्।
यहाँसम्म आइपुग्न कस्मिराले धेरै संघर्ष गर्नुपरेको छ।
‘मैले भोक लागेको बेला खाना खाइनँ, निन्द्रा लागेको बेला सुतिनँ,’ कस्मिराले भनिन् ‘सिधा बाटो हिडेँ। गरेरै देखाउँछु भन्ने अठोट लिएर मेहनत गरेँ।’
एक पटक मध्य रातमा निन्द्राले च्यापेको समयमा कपडा सिलाउने क्रममा उनको बुढी औंला मेसिनमा पसेर पुरै च्यातिएको उनले बताइन। घर परिवार र समाजबाटै तिरस्कार खेप्नु परेको उनको अनुभव छ।
‘म हेर्दा पनि राम्री छु, त्यसैमा पनि मुस्लिम समुदायको महिला संस्कारअनुसार बुर्का लगाउनु पर्ने र म उत्पादित कपडा बेच्नको लागि यताउता जाँदा समाजलाई त्यो कुरा पच्ने कुरै थिएन,’ कस्मिराले भनिन्, ‘मेरो श्रीमानलाई आफ्नै आफन्त र समुदायका मानिसले उक्साउँथे। मेरो चरित्रको कुरा उछालेर श्रीमानले प्रहरीमा जाहेरी पनि दिनुभयो। म प्रहरीमा १५/२० दिन तारिख लिनसमेत जानु पर्यो।’
त्यतिखेर श्रीमानले आफूलाई कुट्ने, पिट्नेजस्ता कार्य गरेको कस्मिराले बताइन्।
‘उहाँ डिप्रेसनको बिरामी हो र कसैले कुरा लाउनासाथ कुटपिटमा उत्रिनुहुन्थ्यो,’ उनले भनिन्, ‘अर्कोतर्फ मलाई आफूले तयार पारेका पेटिकोट बेच्न घर बाहिर ननिस्की हुँदैन थियो।’
आज कस्मिरा घर, परिवार, समाज सबैको लागि एउटा उदाहरणीय पात्र बनेकी छन्। श्रीमान संशोदिन मियाले पनि आफ्नो गल्तीको पश्चाताप गर्दै र पूरै साथ सहयोग गर्दै आएको कस्मिराले बताइन्।
‘उहाँले अझै पनि औषधि खानुहुन्छ तर उहाँले मलाई पूरै विश्वास गर्नुहुन्छ। म बाहिर हुँदा उद्योगको रेखदेख गर्नुहुन्छ,’ उनले भनिन्।
आज कस्मिराको पदचाप पछ्याउँदै उनको समुदायका अरू पनि घरभित्रै भए पनि कपडा सिलाउने, म्याक्सी सिलाउने, डोरी बुन्ने, लेस बनाउनेजस्ता काम गरेर आत्मनिर्भर बन्दै गरेको देखेर उनी औधी खुसी छिन्।
'हिजो मैले गरिबीका विरूद्ध आँट गरेर हिँडे र आज मलाई अन्य दिदी-बहिनीले पनि पछ्याइरहनु भएको छ। यो देखेर खुसी छु,' उनले भनिन्।
कस्मिराले समुदायमा पिछडिएका महिलाको उत्थानका लागि ‘मुस्लिम महिला उद्यमी संघ नेपाल’ नामक संस्था पनि खोलेकी छन्। संस्थामार्फत् सीप सिकाएर महिलालाई रोजगारी सिर्जना गर्ने उद्देश्य उनको हो।
आफ्नै मेहनतले हालसम्म नेपागन्जमै झन्डै डेढ करोड बढी मूल्य पर्ने दुइटा घडेरी किनेको उनले बताइन्।
उनले भनिन्, 'मेरा हात खुट्टा चल्दासम्म सिलाइ पेसा छाड्दिनँ।'
सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी