जाङ कङयुआन हालै ताइवानका सबभन्दा धनी व्यक्ति घोषित भएका छन्। अर्बपतिहरूको सम्पत्ति लेखाजोखा राख्ने ब्लुमबर्ग बिलेनियर्स सूचकांकले जाङको सम्पत्ति आकलन गरी उनलाई ताइवानकै धनाढ्य घोषित गरेको हो।
ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १३ अर्ब अमेरिकी डलर (करिब २० खर्ब रूपैयाँ) भन्दा बढी छ।
जेफ बेजोस, बिल गेट्स, एलन मस्क, मार्क जुकरवर्ग, वारेन वफेट लगायत संसारकै धनी रहिसकेका व्यक्तिहरूका माझमा जाङको नाम र जीवन त्यति चर्चित छैन। तर उनको व्यावसायिक यात्राको कथा रोचक छ।
जाङ चीनमा रहेको हुवाली इन्डस्ट्रियल ग्रुपका संस्थापक हुन्। ताइवानमा जन्मेका उनी जुत्ताको व्यवसाय गर्छन्। ती जुत्ता जसको हामीमध्ये धेरैले नाम सुनिसकेका छौं, लगाइसकेका छौं।
हुवालीले आफ्ना कारखानाबाट बहुराष्ट्रिय कम्पनीहरू नाइक, कन्भर्स, पुमा एजी, युजिजी र भ्यान्स लगायत विश्व चर्चित ब्रान्डका जुत्ताहरू बनाउँदै आएको छ। उसका यी कारखानाबाट सबभन्दा धेरै उत्पादन हुने भनेको नाइक, भ्यान्स र कन्भर्स जुत्ता हो, हरेक वर्ष १८ करोड जोडीभन्दा बढी।
जाङको कम्पनी हुवालीको गत अप्रिलमा सेयर भाउ एक्कासि आकासिएको थियो। १६२ प्रतिशतले सेयर बढ्दा उनको सम्पत्ति पनि ह्वात्तै बढ्यो। हुवालीमा उनी र उनको परिवारको गरी ८७ प्रतिशतभन्दा बढी सेयर छ।
यसअघि ताइवानका धनाढ्य आइफोन बनाउने फक्सकन टेक्नोलोजीका टेरी गोउ थिए। अहिले जाङ आफ्ना जुत्ताहरूबाट छलाङ मार्दै नम्बर एक हुन सफल भएका छन्।
जाङको सफलताले बहुराष्ट्रिय कम्पनीहरूसँग ठेक्कापट्टामा काम गर्ने ताइवानी उत्पादकहरूले कसरी अथाह सम्पत्ति कमाउन सकेका छन् भन्ने अर्को बलियो उदाहरण दिएको अर्थ विश्लेषकहरूले बताएका छन्।
'हुवाली कम्पनीको कारोबार र भविष्य राम्रो देखिन्छ,' सांघाइस्थित इन्डस्ट्रियल सेक्युरिटिजका विश्लेषक जाओ शूलीले भनेका छन्। हुवालीलाई नाइक जुत्ताको अझै धेरै अर्डर आउन सक्ने आकलन पनि उनको छ।
अहिले यति ठूलो फड्को मारेका जाङले सुरूआती दिनमा भने सानो कदमबाट काम थालेका थिए।
७३ वर्षीय जाङ सन् १९४८ मा ताइवानको किसान परिवारमा जन्मेका हुन्। कृषि कलेजबाट ग्राजुएट सकेपछि उनी महिलाका जुत्ता बनाउने कारखानामा काम गर्न थाले। यहीँबाट उनको जीवनले अर्कै मोड लियो।
अर्काकोमा काम गरे पनि उनी सधैं आफ्नै काम गर्न चाहन्थे। उनले उक्त जुत्ता कारखानामा काम सिके र कमाएको पैसा जम्मा गर्दै गए। उनी आफ्नै कारखाना खोल्न चाहन्थे।
तीन दशकअघि उनको सपनाले यथार्थको बाटो देख्यो।
उनी जुत्ता उत्पादन गर्ने आफ्नै कारखाना खोल्न तयार भए। तर सहरी क्षेत्रमा खोल्न आर्थिक हैसियतले भ्याएन। त्यसैले उनले पश्चिमी ताइवानको खेतीपाती हुने जमिन नजिकै रहेको सुँगुर फार्मलाई आफ्नो कारखाना बनाए।
उनले एकान्त खेतका बीचमा खोलेको कारखानाबारे त्यहाँका स्थानीय बासिन्दालाई पनि जानकारी थिएन। न उनको कारखानामा बाहिरको कुनै चहलपहल सुनिन्थ्यो। उनी गुणस्तरीय जुत्ता बनाउनमा मात्र केन्द्रित भए।
'म सानो गाउँमा हुर्किएको हुँ र सानो कम्पनी चलाइरहेको थिएँ,' चाङ सुङ युआन भनेर पनि चिनिने जाङले ताइवानको अखबार बिजनेस विक्लीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'समय बित्दै जाँदा मैले सबै ध्यान र मेहनत जुत्तामै लगाएँ।
लगनसाथ गरेको कामले सफलता किन दिन्थेन र! सुँगुर फार्मबाट सुरू भएको उनको व्यापार उक्लिन थाल्यो।
सन् १९८० दशकसम्म आइपुग्दा जाङ र केही साझेदारहरूले ताइवान र दक्षिणी चीनको गुवानडङमा थुप्रै शाखा कारखानाहरू खोले।
पछि सन् १९९० मा उनले हङकङका केही साझेदारसँग मिलेर लियाङजिङ इन्डस्ट्रियल स्थापना गरे। सन् १९९५ मा लियाङजिङ हङकङमा पब्लिक कम्पनीमा रूपान्तरण भयो। पछि यही कम्पनीको नाम सिम्फोनी होल्डिङ्स रह्यो।
जाङ बजारबारे एक सिद्धान्तमा विश्वास गर्छन्- थोरै नाफा तर तीव्र आम्दानी।
उनले अपनाएको यो सिद्धान्त उनको व्यवसायमा कामयाब देखिएको छ।
जाङले सन् २००४ मा हङकङ नजिकैको चिनियाँ सहर जोङशानमा हुवाली स्थापना गरे। बजार र समयअनुसार चलायमान हुन पनि पोख्त छन् जाङ। अप्ठ्यारा समयमा नयाँ व्यवसायको अवसर देख्न सक्ने मान्छे हुन् उनी।
चीनमा श्रमिकको पारिश्रमिक बढ्दै गएका बेला उनले आफ्नो खुबी प्रयोग गरे। तुरून्तै उनले भियतनाम र अरू दक्षिणपूर्वी एसियाली क्षेत्रमा आफ्ना कारखाना विस्तार गरे। ती क्षेत्रमा चीनको तुलनामा श्रमिक खर्च कम लाग्थ्यो।
त्यही बेलादेखि उनले हुवालीको कामलाई तीव्र बनाएका हुन्।
सन् २०१४ मा उनले सिम्फोनीको निर्देशकको पद छाडे। यसको केही समयपछि नै उनी र उनको परिवारले हुवाली विस्तार गर्न भनेर सिम्फोनीका सबै सेयर बेचे। अहिले सिम्फोनीमा उनीहरूको सम्पत्ति छैन।
हुवालीको भने चीनसँगै भियतनाम, म्यान्मा र द डोमिनिक रिपब्लिकमा कारखाना विस्तार भइसक्यो। यी कारखानामा बनेका नाइक, कन्भर्स, पुमा एजी, युजिजी र भ्यान्स ब्रान्डका जुत्ताहरू संसारभर पुग्छन्।
पछिल्लो दुई वर्षयता संसारभर कोरोनाले आर्थिक कारोबारमा असर पारेको छ। तर जाङको व्यवसायलाई यसले छोएन। उनको एकधूनले काम गर्ने शैलीका कारण कम्पनीले अरूजस्तो घाटा त परै जाओस्, उल्टो धेरै नाफा कमाएको विश्लेषकहरू बताउँछन्।
'सन् २०२० मा संसारभरको बजार कोरोना महामारीका कारण सुस्त भयो। हुवालीले भने आफ्नो स्थिर क्षमता र पानीजहाजबाट सामान पठाउने काम जारी राख्न सक्यो,' विश्लेषक जाओले भनेका छन्, 'फेरि हुवालीका कारखाना विश्वभर छरिएका छन् र त्यसको बजार ठूलो छ। त्यसले पनि हुवालीले समकालीन उद्योगका तुलनामा धेरै नाफा कमाउन मद्दत पुर्याएको छ।'
त्यस्तै संसारभर बजार स्थापना गरिसकेका बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यमा काम गर्ने हुवालीको उत्पादन लागत पनि समकालीन कम्पनीका तुलनामा कम छ। यसले पनि उसलाई धेरै नाफा कमाउन सघाएको विश्लेषकहरू बताउँछन्।
गत वर्ष हुवालीको राजस्व २.१ अर्ब अमेरिकी डलर थियो। सन् २०२० को अन्त्यसम्म उसका संसारभर २१ वटा कारखाना थिए। त्यो बेला उसको आम्दानी अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढेको थियो।
सन् २०२१ अप्रिलसम्म आइपुग्दा हुवाली सेन्जेन स्टक बजारमा १८ अर्ब अमेरिकी डलरभन्दा बढीको कम्पनी भएको थियो। त्योसँगै जोङशान सहरमा एक खर्ब युआनभन्दा बढी सम्पत्ति हुने पहिलो कम्पनी पनि हुवाली बन्यो।
तर यी सबै छलाङले आफ्नो जीवनमा कुनै परिवर्तन नल्याउने जाङले बताएका छन्।
उनले अन्तर्वार्तामा भनेका छन्, 'म एकदमै बोरिङ मान्छे हुँ। म जे काममा पोख्त छु, त्यही गरेर बसिरहन्छु।'
जाङ चुपचाप आफ्नो काममा लागिरहे पनि उनले 'जुत्ताको राजा' का रूपमा पहिचान बनाइसकेका छन्।
(साउथ चाइना मर्निङ पोस्ट, ब्लुमबर्ग लगायत सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)